मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, प्रस्तावित मुख्यमन्त्रीमा आचार्य

bhim-acharya-sherdhan-rai
लोकपाटी न्यूज

विराटनगर, १२ पुस। सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। अविश्वासको प्रस्तावमा उक्त समूहका ३७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।

प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा दर्ता गरिएको प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी रहेका छन्। प्रस्ताव आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको हो। प्रस्तावमा भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएका छन्। मुख्यमन्त्री चयन गर्न यसअघि भएको संसदीय दलको चुनावमा आचार्यविरुद्ध २ मतले अग्रता लिँदै विजय हासिल गरेका थिए।

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना सांसद रहेका छन्। नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन्। दाहाल–नेपाल पक्षधरले २२ जनाभन्दा कम प्रदेशसभा सदस्य मुख्यमन्त्री राईसँग रहेको जिकिर गर्दै आएका छन् भने मुख्यमन्त्री राई पक्षधरले भने ३५ भन्दा बढी प्रदेशसभा सदस्यहरू आफूहरूसँग रहने दाबी गरिरहेका छन्।

प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ। यसअघि मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए। प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरुले शनिबार राजीनामा दिने तयारी गरिरेहका बेला मुख्यमन्त्री राईले हिजै उनीलाई पदमुक्त गरेका हुन्। मन्त्रीबाट पदमुक्त भएपछि आङ्बोले अब मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने बाटो खुलेको प्रतिक्रिया दिए। प्रचण्ड–नेपाल समूहका सबै मन्त्रीहरुले आजै राजीनामा दिएको उनले जानकारी दिए।

आइतबार बिहान प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका हुन्।

राजीनामासँगै मुख्यमन्त्री शेरधन राईले प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेका छन्। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन मन्त्रिपरिषदले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो।

शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो। आइतबार प्रदेश सरकारका केही मन्त्रीले राजीनामा दिएका छन्। अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश सरकारको मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गरेको छ। प्रचण्ड–माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्