तातोपानी नाका सुचारु, ८ करोड भन्सार उठ्यो

लोकपाटी न्यूज

काठमाडौं। उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट करिब १० महिनापछि दैनिक १६ कन्टेनर सामान भित्रिन थालेको छ।

तातोपानी भन्सारबाट पुष महिना सुरु भएपछि दैनिक रुपमा भित्रिने कन्टेनरको संख्या बढ्न थालेको तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रिले बताए।

हाल दैनिक नेपाली कन्टेनर १२ देखि १६ वटासम्म आउन थालेको छ। यस पहिले भन्सारबाट दैनिक ५ देखि ८ वटासम्म कन्टेनर आइरहेको थियो।

भन्सारबाट मंसिर १० देखि हालसम्म १३५ टेलर र १७० वटा कन्टेनर भित्रिसकेको छ।

कन्टेनरको संङख्या बढ्दै गए अबको एक महिनाभित्र नाकामा रोकिएको सबै सामान तातोपानी भन्सारमा आइपुग्ने खत्रीले बताए।

‘चिनियाँ लोसार सुरु हुने भएकोले नाका बन्द हुन सक्छ। हामीले सकेसम्म बाँकी रहेको केही कन्टेनर लोसार अघि नै ल्याउन खोजेका छौं,’उनले भने।

भन्सार पुर्ण रुपमा संचालन भएपनि चिनीयाँ पक्षले दैनिक २ देखि ४ वटा मात्र कन्टेनर पठाउने गरेका थिए। कोरोनाको कारण देखाउँदै चिनियाँ पक्षले कन्टेनरमा सिण्डिकेट लगाएका थिए। जसले गर्दा गत बर्ष गर्मीमा व्यवसायीहरुले आयात गरेका चिनीयाँ सामान र यो बर्ष दशैं तिहारका लागि मगाएका फलफूलदेखि कपडाहरु सबै लास्सामा रोकिएका थिए।

लक डाउनको समयमा भन्सारमा भित्रिएको कन्टेनरमध्ये पहिलो प्राथमिक्ता स्वास्थ सामाग्री दिइएको थियो। यसपछि चाँडै बिग्रने फलफूल तथा तरकारी, बिकास तथा पुर्वाधार निर्माणका उपकरणहरु, तयारी कपडा, जुत्ता र कच्चा पर्दाथ लगायका सामानहरु पठाउने गरिएको थियो।

तातोपानी भन्सार कार्यालयमा मंसिर महिनामा भन्सार राजश्व ८ करोड रुपैयाँ उठेको छ। कात्तिकसम्म थोरै कन्टेनर आउँदा २ देखि ४ करोड रुपैयाँसम्म संकलन हुने गरेको थियो।

कोभिडअघि महिनाको १६ देखि २५ करोड रुपैयाँसम्म राजश्व संकलन हुने गरेको भन्सारले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्