संशोधनवाद : श्रमजीवी वर्गकाे शत्रु

Rajan Timalsina
लोकपाटी न्यूज

– राजन तिमल्सिना

प्रगतिशील विचारधारा मान्ने मानिसहरुले प्रकृति, मानव समाज, सामाजिक क्रियाकलापका र सामाजिक शक्तिहरुको विश्लेषण मार्क्सवादको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी मान्यताको आधारमा गर्ने गर्दछन्। मार्क्सवादका कुनैपनि मान्यता मनोगत र आदर्शवादी नभई वैज्ञानिक, वस्तुवादी र पद्धतिसंगत विश्वदृष्टिकोणमा आधारित हुन्छन्।

चेतनशील मानिसले जुन कुराको तथ्य र प्रमाण हुँदैन ती मनोगत र काल्पनीक हुन भन्ने कुरा बुझ्नु पर्दछ, साथसाथै जुन कुराको तथ्य र प्रमाण हुन्छ ती यर्थाथ, वस्तुगत र वैज्ञानिक हुन भनि बुझ्नु पर्दछ। मानिस र पशुबीचको फरक भेनेकै सचेतन चेतना मुख्यपक्ष हो, यदि मानिसको दिमागबाट चेतना झिकिदिने हो भने मानिस र पशुमा कुनै पनि फरक पाँइदैन।

कतिपय मनिसहरुको चिन्तन गर्ने पद्धति, विश्व दृष्टिकोण आदिमा अज्ञानता वा अन्य कारणले गर्दा वस्तु, घटना र इतिहासलाई एकांकी रुपमा हेर्ने गर्दछन्। मार्क्सवादले विश्वका हरेक चीज एकको दुई विभाजन हुने कुरालाई तथ्यगत रुपमा पुष्टि गर्दछ, जस्तोः राम्रो-नराम्रो, दिन-रात, उज्यालो-अध्यारो, सकरात्मक-नकरात्मक, पोजेटिभ-नेगेटिभ, जीत-हार, विजय-पराजय, जन्म-मुत्यु, आक्रमण-रक्षा, अगाडि-पछाडि, सफलता-असफलता, प्रश्न-उत्तर, क्रान्ति-प्रतिक्रान्ति आदि इत्यदि।

यसरी मार्क्सवादले यस्ता तमाम विषयवस्तुको सकरात्मक र नकरात्मक दुबै (द्वन्द्वात्मक भौतिकवादी) कोणबाट बस्तु र घटनाको समिक्षा गरेर वैज्ञानिक निश्कर्ष निकाल्ने काम गर्छ। माथि उल्लेख गरे जस्तै मार्क्सवाद र संशोधनवादलाई पनि समदूरीमा राखेर हेर्नु अवैज्ञानिक र मनोगत हुन जान्छ। मार्क्सवाद र संशानेधनवाद भनेको विपरित चीज हो यसलाई कदापि समदूरीमा राखेर हेर्न मिल्दैन। मार्क्सवाद र संशोधनवादलाई मित्र शक्तिको रुपमा हेर्ने गरिन्छ, वस्तवमा यो कुनै मार्क्सवादी समझदारी होइन साथै यो मानवीय चेतना पनि होइन। मानिसको दिमागमा संशोधनवाद खराब हो भन्ने न्यूनतम मान्यता रहेको हुन्छ तर संशोधनवादीहरुले आफूलाई पूँजीवादी नभनि कम्युनिष्ट भनेकाले जनतामा गहिरो भ्रम सिर्जना हुने गरेको छ।

मार्क्सवादको विकास हुनु अगाडि युरोपियन कम्युनिज्म र समाजवाद सुधारवादी विचारको रुपमा विभिन्न दार्शनिकहरुले उठाउदै आएका थिए। युरोपियन समाजवाद समानता र न्यायपूर्ण समाजभित्र वर्गसंघर्ष विरुद्ध वर्गसमन्वय, क्रािन्तकारी रुपान्तरणका विरुद्ध, शान्तिपूर्ण सहअस्तित्व, वर्गविलोपिकरणको विरुद्ध वर्गअस्तित्व, समानताका विरुद्ध शोषण जस्ता सुधारवादी विचारको जगमा उभिएको थियो।

जर्मन मजदूर आन्दोलनमा वर्नास्टाइन र लासालले संशोधनवादी कित्ताको नेतृत्व गरे भने कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले क्रान्तिकारी मार्क्सवादको विकासका साथै अविश्कार गरे। मार्क्स र एंगेल्सले वैज्ञानिक विचारको विकास गर्ने क्रममा वर्नास्टाइन र लासाल जस्ता सुधारवादी र संशोधनवादी विरुद्ध भिषण संघर्ष गर्नु परेको थियो, भने लेनिनले पनि कार्ल काउत्सिकी, प्लेखानोभ, टाट्रस्की, बुखारिन जस्ता संशोधनवादी विरुद्ध संघर्ष गर्दै मार्क्सवादको रक्षा र लेनिनवादको विकास गर्नु भयो। त्यसैगरि माओले पनि तुस्यू, देङ्ग सियाओ पिङ्ग, वाङ्गमिङ्ग जस्ता संशोधनवादीको विरुद्ध संघर्ष गर्दै मार्क्सवाद-लेनिनवादको रक्ष र माओवादको विकास गर्नु भयो।

विश्व कम्युनिष्ट आन्दोलनमा क्रान्तिसँगसँगै प्रतिक्रान्तिको जन्म भए जस्तै मार्क्सवादसँगसँगै संशोधनवादको पनि जन्म हुने गरेको छ। अन्तर्राष्टिय कम्युनिष्ट आन्दोलनमा संशोधनवादका पिताको रुपमा प्रुधोलाई चिनिन्छ। त्यसैगरि मार्क्सवाद पूरानो भएको अलाप गर्दै वर्नास्टाइनले पनि संशोधनवादी-पूँजीवादी विचारको पक्षपेषण र वाकलात गरेका थिए।

संशोधनवादका विशेषताहरु दक्षिणपन्थी, उग्रपन्थी र मध्यपन्थीको रुपमा प्रकट हुने गरेको छ भने संशोधनवाद मूलतः तीनवटा श्रोतबाट जन्म हुन्छ, जस्तो निम्नपूँजीवाद, उपभोक्तावाद र अवसरवाद। संशोधनवादीहरुको साम्राज्यवादी, पूँजीवादी, दलाल तथा नोकरशाहीहरुसँग घनिष्टता र निकटता रहेको हुन्छ। कम्युनिष्ट पार्टीको नाम र झण्डा बोक्दैमा कम्युनिष्ट हुन्छन भन्ने मान्यता नै शतप्रतिशत गलत र भ्रमपूर्ण छ। संशोधनवादी मार्क्सवादीका दाजुभाई नै हुन र वर्गमित्र पनि हुन भन्ने दृष्टिकोण नबदलेसम्म मार्क्सवादको रक्षा प्रयोग र विकास गर्न सकिँदैन।

सच्चा कम्युनिष्टहरुले उनीहरु मित्रशक्ति हुन भन्ने भ्रम पाल्नाले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति भएको छ। मार्क्सवादीहरुले संशोधनवादसँग लड्दा प्रतिक्रियावादलाई फाइदा पुग्ने हो कि भन्ने भ्रम पर्न गएकाले सतर्कतापूर्वक आलोचना मात्र गर्दछन्। जब कम्युनिष्ट र संशोधनवादीको बीचमा आलोचना गर्न सुरु हुन्छ तब पूँजीवादीहरुले कम्युनिस्टहरू एकआपसमै गाँड कोराकोर गर्दछन भनेर जनतामा ठूलो भ्रम सिर्जना गर्दछन्। संशोधनवाद भनेको सच्चा पूँजीवाद हो, यो कदापी मार्क्सवाद हुन सक्दैन। मार्क्सवादको आवरणमा पूँजीवादी सारतत्व लागू गरी श्रमजीवी वर्गमाथि ठगीधन्दा सञ्चालन गर्नु नै संशोधनवाद हो।

पूँजीवादीहरु खुल्ला रुपमा शोषणको स्वतन्त्रताको वाकलात गर्दछन् भने संशोधनवादीहरु छद्यवेषी बनेर उही कुकर्म गर्दछन्। कुरा प्रस्ट छ की पहिलो पंक्तिका मानिसभन्दा दोस्रो पंक्तिका मानिसहरू अझैबढी अनैतिक छन्, जसले मार्क्सवादको आवरणमा पूँजीवादी शोषण र ब्यक्तिगत स्वार्थकोलागि जनताको मुक्ति र समाजवादको नारा लगाईरहेका हुन्छन्। संशोधनवाद सारसंग्रहवादको रुपमा भ्रष्टिकरण भएको छ। यसले वर्ग संघर्षको परित्याग गरी वर्गसमन्वय बाटो पहिल्याई बाघ र बाख्रा एउटै खोरमा अटाउने वर्गसमन्वयवादी अवैज्ञानिक कुतर्क गर्दछ।

मार्क्सवादको सिर्जनात्मक प्रयोगको नाममा सर्वहारा अधिनायकत्व छोडी पूँजीवादी अधिनायकत्वलाई निरन्तरता दिन अनेकौ बहाना बाजी गर्दै संसदीय फोहोरी अहालमा डुब्दछन्। यसले शान्तिपूर्ण संक्रमाणको नाराद्वारा श्रमजीवी वर्गमाथि वर्गघात गर्दै शोषणमूलक समाजको भत्किसकेको व्यवस्थालाई रंगरोगन गरी नयाँ बनेको हल्ला गर्दछन्। साथसाथै यसले सर्वहारा क्रान्तिलाई अस्वीकार गर्दै संसदीय अनैतिक फोहोरी खेलबाट नै वैज्ञानिक समाजवादमा पुग्न सकिन्छ भनि जनतालाई भ्रमित पार्दछन्।

संशोधनवाद भनेको छद्यम पूँजीवाद हो, खुल्ला पूँजीवाद सजिलै चिन्न र बुझ्न सकिन्छ भने छद्यम पूँजीवाद हरियो घाँसभित्र लुकेको हरियो साँप जस्तो हुन्छ, यसले खेतवारीमा काम गर्नेमाथि सजिलै आक्रमण गर्न सक्दछ। अन्य सापहरु टाढैबाट चिन्न र सर्तक हुन सकिन्छ त्यस्तै संशोधनवादीबाट पनि जनता नराम्रोसंग ठगिन पुग्छन्। मार्क्सवादको मन्त्रोचरण गरेर मार्क्सवादमाथि छुरा धस्नु संशोधनवादको मूल विशेषता हो। यसले मार्क्सवादभित्र पूँजीवादको गर्भाधारण गराउछ र मार्क्सवाद र पूँजीवादको अनैतिक गर्भधारणबाट जन्मिएको अवैध सन्तान नै संशोधनवाद हो।

संशोधनवादीहरु आफ्नो स्वाभीमान बन्दकी राखेर पूँजीवादी सरकारमा सामेल हुन्छन र जनतालाई समाजवाद र साम्यवादका सपना बाडेर पूँजीपतीवर्गको मतियार बनि मोजमस्ति, भोगविलास, ऐसआराम, भष्ट्रचार जस्ता घृणित कुकर्म गर्न पूँजीवादी भन्दा अगाडि हुन्छन्। आफूले वषौदेखि उठाउदै आएका वर्गीय मुद्धा भुलेर आफ्नै परिवार र नातागोताभित्र राजकीय अवसर दिलाउन अनैतिक रुपमा मरिमेटेर लाग्छन्। संशोधनवादको भ्रमित विचारद्वार श्रमजीवी जनता अलमलमा परेका छन, उनीहरुले को सच्चा कम्युनिष्ट हो, को ढोगी कम्युनिष्ट भनेर छुट्याउन गाह्रो परेको छ। मुख्यतयः मार्क्सवाद-लेनिनवाद-माओवादको विचार वर्गसंघर्ष र वलप्रयोगको कार्यदिशा बोकेका पार्टीहरुमात्र सच्चा मार्क्सवादी कम्युनिष्ट पार्टी हुन्।

आधुनिक संशोधनवादका जन्मदाता सोभियत कम्युष्टि पार्टीका नेता निकिता ख्रुश्चेभ हुन्। उनले मार्क्सवाद-लेनिनवादको झण्डामुनि वर्ग समन्वयवादी विचारको जगमा आधुनिक संशोधनवाद लागू गरे। ख्रुश्चेभले सर्वहारा अधिनायकत्व र बल प्रयोगको शिद्धान्तलाई लात हान्दै ‘सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको सत्ता र शान्तिपूर्ण संक्रमण’को पूँजीवादी नाराद्वारा प्रतिक्रान्ति गरेका थिए।

उनले समाजवादको ठाउँमा पूँजीवाद, वर्ग संघर्षको ठाउँमा वर्ग समन्वयवाद, सर्वहारा अन्तराष्ट्रवादको ठाउँमा सामाजिक फाँसिवाद, मार्क्सवादी विचारको ठाउँमा संशोधनवादी पूँजीवादी विचारधारा र समूहिक र राजकीय स्वार्थको ठाउँमा ब्यक्तिगत तथा नीजि स्वार्थ जस्ता बिजातीय कर्मद्वारा सोभियत विघटनको जग बसालेका थिए। लेनिनको नेतृत्वमा सोभियत जनताको भिषण त्याग, वलिदान र संघर्षद्वारा स्थापित सर्वहारावर्गको सत्तालाई सजिलै प्रतिक्रान्ति गरी पूँजीवादी मेशिनरीमा बदल्न ख्रूश्चेभी संशोधनवाद सफल भयो।

संशोधनवादको नयाँ प्रयोग इन्डोनेसिया र चिलीको कम्युनिस्ट आन्दोलनमा प्रकट भयो। चिलीको कम्युनिस्ट पार्टीले ख्रूश्चेभको तीन शान्तिपूर्ण सिद्धान्तको आधारमा संसदीय ब्यवस्थाबाट सर्वहारा अधिनायकत्व लागू गर्न सकिन्छ भन्ने विस्वास लियो। वास्तवमा संसदीय पूँजीवादी ब्यवस्था र त्यसका आम मेशनरीले सर्वहारावर्गको होईन पूँजीवादीकै सेवा गर्छ भन्ने सामान्य समझदारी पनि नेतृत्वमा हुन सकेन। पूँजीवादी पुरानो बनिबनाउ बुर्जुवासत्ता पूर्णरूपमा ध्वस्त नगरेसम्म त्यसले सर्वहारा अधिनायकत्व लागू गर्न सक्दैन। निर्वाचनमार्फत् सत्तामा पुगेको क्रान्तिकारी सरकारले सत्ताका संयन्त्रहरूलाई परिवर्तन गर्न खोज्यो तर साम्राज्यवादी र पुँजीवादीहरूका दलालहरू त्यसलाई सफल हुन दिएनन्।

अमेरिकी साम्राज्यवादको निर्देशनमा चिलीको सेना, प्रशासन तथा वित्तीय संस्थाहरूको आडमा कम्युनिस्ट सरकारले जनतामाथि भिषण दमन चलायो। त्यस दमनबाट लाखैंको संख्यामा नरसंहारमार्फत् अमेरीकाले आफ्नो पूँजीवादी सरकार स्थापना गर्यो। त्यस घटनाले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई ठूलो शिक्षा दिएको छ। अन्तमा, नेपाली कम्युनिष्ट आन्दोलनमा हावी रहेको संशोधनवादले दुई तिहाईको सरकारको हवला दिँदै जनतामाथि राज गरिरहेको छ। सुखि नेपाली समृद्ध नेपालको नाराभित्र देश र जनतालाई दोहन गरी विस्तारवादी र साम्राज्यवादीको डिजाइनमा सच्चा कम्युनिष्टहरुलाई सफाय गर्ने अभियान आगाडि बढउने निश्चित छ।

नेपाल लगायत विश्वभरि नै कम्युनिष्ट पार्टीप्रति जनताको आस्था र भरोसा निकै ठूलो छ। चुनाव जित्नको लागिमात्र कम्युनिष्ट पार्टीको नाम र झण्डा प्रयोग गर्ने गरेका छन तर कम्युनिष्ट कर्म गर्न होइन। यदि जनहितको काम गर्ने भए सुविधजनक दुईतिहाइको सरकार छ जसले कुनै रोकावट भए संविधान संशोधन गरेर समाजवादी कार्यक्रम लागू गर्न सक्छ। संशोधनवादीहरु रचनात्मक हुँदैनन, उनीहरु ध्वंसात्मक हुने भएकाले समाजवाद होईन पूँजीवादलाई नै मजबुतीकरण गर्दछन्। संशोधनवादीहरूले सत्ताको समेत दुरुपयोग गरेर कम्युनिष्टहरुलाई बदनाम गराउने र मानिसहरूलाई भ्रष्ट बनाई जुन जोगी आएपनि कानै चिरेको भन्ने उखानलाई चरितार्थ गर्नेछन्। वर्तमान परिवेशमा संशोधनवादका विरुद्ध क्रान्तिकारी मार्क्सवादको झण्डा उठाउने काम धेरै चुनौतीपूर्ण छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्