काठमाडौं, २८ असार। नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली कुल्चिएर उपभोक्तालाई अतिरिक्त भार नथपेको जनाएको छ। निगमले आइतबार पत्रकार सम्मेलन गरेर उपभोक्ताको हितका लागि कार्यविधि मिचेरै भए पनि पेट्रोलियमको भाउ कमै राख्ने निर्णय गरिएको जनाएको हो।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार चालु आर्थिक वर्षमा १० पटक मूल्य समायोजन गरिएकामा पाँच पटक मूल्य बढाइएको तथा पाँच पटक मूल्य घटाइएको छ। कार्यकारी निर्देशक पौडेलले भने, ‘उपभोक्तामूखी भएर निगमले निर्णय नगरेको भए अहिले ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय ५ रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटिर १०५ रुपैयाँ ५० पैसा तथा डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ ५० पैसा पुग्ने थियो।’
‘सरकारको निर्णयले बढाइएको पूर्वाधार विकास कर र सडक मर्मत सम्भार दस्तुरसमेत जोडेर निगमले स्वचालित मूल्य प्रणालीबाट मात्रै मूल्य निर्धारण गरेको भए भाउ अझै उकालो लाग्थ्यो।’ बजारमा पेट्रोल १०२, डिजेल तथा मटितेल ८८ प्रतिलिटर र खाना पकाउने ग्यास १३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डरमा गत शुक्रबार गरिएको इन्धनको मूल्यवृद्धिपछि बिक्री भईरहेको छ।



लोकपाटी न्यूज