काठमाडौं, २५ माघ। सिमसिमे पानीमा बोलको गीत रचना, संगीत र गायनमार्फत् नेपाली संगीतमा कालजयी गायिकाको छवि बनाएकी गायिका रेखा शाहले माघ २४ गतेको आफ्नो जन्मदिनका दिन नयाँ एल्वम ’काठैको पुतली’ को अडियो सिडी लोकार्पण गरेकी छिन्। राजधानीमा आयोजित एक समारोहमा आफ्नो जन्मदिनलाई विशेष बनाउन नयाँ एल्वमको सिडी उनले लोकार्पण गरेको बताइन्।
टप्पा शैलीको नयाँ गीत ’काठैको पुतली झ्यालझ्यालैमा, जिन्दगी बित्यो ख्यालख्यालैमा’ समावेश भएको सो एल्वममा १२ वटा नयाँ पुराना गीतहरू समावेश गरिएका छन्। एक वर्षको अन्तरालमा उनले सारवजनिक गरेका सिंगल ट्रयाकलाई एल्वमको कलेक्सनको रूपमा ल्याएको बताउंदै उनले भनिन्, “ हुन त अहिलेको जमाना सिंगल ट्रयाकको हो तर आफ्ना गीतलाई व्यवस्थित गर्न र विशेष गरी एफएम मिडियालाई दिनका लागि मैले सिडी निर्माण गरेकी हुँ“ सइं तमी, पछ्यौरी भिजायो, सइको घर काँ हो काँ, बाटैमा रैछ घर तिम्रो, तिमीबिना, ए दिदी बैनी हो लगायत गीत एल्वममा समावेश छन्।
एल्वममा बोनस ट्रयाकको रूपमा ’सिमसिमे पानीमा’को नयाँ भर्सनलाई पनि समावेश गरिएको छ। एल्वमका अधिकांश गीत भूपेन्द्र खड्काले लेखेका छन् भने संगीत हरि लम्साल, राजनराज शिवाकोटी, कमल खत्री र दीपक शर्माको रहेको छ। गायिका शाहले अजन्मदिनको अवसर पारेर मानव सेवा आश्रमलाई नगत १० हजार सहयोग पनि गरेकी छिन्। यसअघि शाहका आधा दर्जन एल्वम प्रकाशित छन्।



लोकपाटी न्यूज

