काठमाडौं। कृषि विकास बैंकले ५३ औं वार्षिकोत्सव मनाउन गइरहेको छ। बैंकले एक वर्षमा वित्तीय परिसूचकमा उल्लेख्य सुधारसमेत गरेको छ। ५३ औं वर्षको पूर्वसन्ध्यामा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अघिल्लो वर्षको पुस मसान्तसम्ममा बैंकसँग १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेकोमा यो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको उनले जानकारी दिए।
बैंकको गतवर्षको पुस मसान्त र यो वर्षको पुस मसान्तको तथ्यांक विश्लेषण गर्दा परिसूचकमा सुधार भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए। एक वर्षमा बैंकको निक्षेप १५.४४ प्रतिशतले बढेको छ भने, बैंकको कर्जा तथा लगानी १०.२३ प्रतिशतले बढेको छ ।
‘गत वर्षको पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको बैंकले यो वर्षको पुस मसान्तसम्म आइपुग्दा १ खर्ब १७ अर्ब रुपैयाँ पुर्याएको छ ।’ प्रमूख कार्यकारी अधिकृत उपाध्यायले पत्रकार सम्मेलनमा भने ।
पत्रकार सम्मेलनमा बैंकको खराब कर्जाको अनुपात पनि घटेको जानकारी दिइयो। गत वर्षको पुस मसान्तमा ४ अर्ब ७१ करोड रुपैयाँ खराब कर्जा रहेकोमा यस वर्षको पुस मसान्त आइपुग्दा खराब कर्जा ४ अर्ब २३ करोड रुपैयाँमा सिमित भएको छ । एक वर्षको बीचमा बैंकको खराब कर्जा १०.३१ प्रतिशतले घटेको दावि गरिएको छ।
खराब कर्जा रकमका आधारमा १०.३१ प्रतिशतले घटेको देखिए पनि प्रतिशतका आधारमा भने निकै घटेको देखिएको छ। गत वर्षको पुसमा ४.४२ प्रतिशत रहेको खराब कर्जा अनुपात यसवर्षको पुसमा ३.५९ प्रतिशतमा झरेको छ । यो एक वर्षको बीचमा प्रतिशतका आधारमा बैंकको खराब कर्जा १८.६४ प्रतिशतले कम भएको छ।
यसैगरी बैंकको करअघिको नाफामा पनि १७ प्रतिशतले बृद्दि भएको छ । गत वर्षको पुस मसान्तमा १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको बैंकले चालु पुस मसान्तमा २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँले बढेको बैंकले जानकारी दिएको छ । गत वर्षको पुस मसान्तमा २३।५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी पुस मसान्तमा २८.३७ रुपैयाँ पुगेको छ । बैंकले २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ। उक्त रकम बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरिरहेको छ। साथै, बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिव एक हजार होमस्टे आबद्ध भएको होमस्टे एशोशिएसनसँग सम्झौता गरी उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने कार्यक्रम बनाएको छ ।



लाेकपाटी न्यूज

