माओत्सेतुङ आफू अन्धकारमा रहेको र वास्तविक जीवन कम्युनिस्ट पार्टीमा सहभागी भएर काम गर्न थालेपछि मात्रै उज्यालोमा पुगेको बताउँथे। आफूले पत्रपत्रिका पढ्नमा ध्यान दिने माओत्सेतुङ १९११ देखि १९२७ सम्म चिङकाङसान पर्वत पुग्नुभन्दा पहिले पेकिङ, साङघाई र हुनानबाट प्रकाशित हुने दैनिक पत्रिका सधैँ पढ्ने गरेको वास्तविकता बताउँथे। आफ्नो सम्पूर्ण खर्चको एक–तिहाइ पत्रपत्रिका किनेर पढ्नमा खर्च हुने गरेको पनि बयान गर्दथे।
अर्को कुरा, माओले आफ्नो देशमा रहेर त्यहाँको बढी जानकारी प्राप्त गर्ने, विदेशमा जाने चाहना नभई आफ्नो देशमा बढीभन्दा बढी समयको सदुपयोग गरेर बढी योगदान गर्ने इच्छा भएको पनि बयान गर्दथे । माओले १९२० को जाडो याममा मजदुरहरूलाई राजनीतिक रूपले सङ्गठित गरेको र माक्र्सवादी सिद्धान्तको प्रभावले र रूसी क्रान्तिको इतिहासले आफूलाई मार्गदर्शन गर्न सुरु गरेको बताए । कम्युनिस्ट घोषण पत्र, वर्गसङ्घर्ष र समाजवादको इतिहास तीन वटा किताबको राम्ररी अध्ययन गरेको र तिनीहरूमा भएका विषयवस्तुबाट प्रभावित भएर आफ्नो काम–कार्वाही अगाडि बढाएको माओले बताएका थिए ।
१९२० को गर्मी यामसम्म आफू सैद्धान्तिक हिसाब र केही हदसम्म कामका हिसाबले समेत माक्र्सवादी बनेको र आफूलाई माक्र्सवादी सम्झन लागेको बयान गर्दथे । त्यति बेलासम्म चीनमा कम्युनिस्ट पार्टी अस्तित्वमा नआएकाले उनी माक्र्सवादी थिए । तर, कम्युनिस्ट बनेका थिएनन् । तेश्रो कम्युनिस्ट इन्टरनेसनलका प्रतिनिधि र फ्रान्समा अध्ययनरत विद्यार्थीहरूसँगको सल्लाहमा चीनमा कम्युनिस्ट पार्टीको सम्मेलन बोलाउने प्रस्ताव अगाडि सारेका थिए ।
माओत्सेतुङ मे १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीकोे स्थापना सम्मेलनमा भाग लिन साङघाई गएका थिए । त्यतिखेर राष्ट्रिय विश्व विद्यालयका सहायक पुस्तकालयाध्यक्षको रूपमा बस्दा आफू दुई प्रतिभाशाली छनतुस्यू र लितायाओको नेतृत्वमा क्रान्तिकारी क्रियाकलापमा सक्रिय भएको बताएका छन् । उनीहरूको गहिरो प्रभाव आफूमा रहेको र त्यो कमजोर अवस्था रहेको उनले बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा माओत्सेतुङ बाहेक हुनानका अर्का एक जना पनि उपस्थित थिए । त्यही वर्ष अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो प्रान्तीय शाखा हुनानमा एक सदस्यको हैसियतमा सङ्गठित भई माओत्सेतुङले अन्य प्रान्त र सहरहरूमा पार्टीका शाखाहरू सङ्गठित गरेका थिए । जुलाई १९२१ मा पहिलो महाधिवेशनपछि चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक सदस्य भएका माओत्सेतुङले हुनान क्षेत्रीय कमिटीको सदस्य भएर कामको जिम्मेवारी लिएका थिए ।
जुन १९२३ मा भएको तेश्रो महाधिवेशनमा डा. सन यात्सेन नेतृत्वको कोमिन्ताङ पार्टीसँग साथ–सहयोग गर्दै साम्राज्यवाद र सामन्तवाद विरोधी मोर्चा बनाउने उद्देश्य लिइएको थियो । त्यो महाधिवेशनमा माओत्सेतुङ पनि प्रतिनिधि थिए । चिनियाँ कम्युनिस्ट पार्टीका प्रत्येक सदस्य व्यक्तिगत रूपमा कोमिङताङ पार्टीको सदस्यता लिएर काम गर्ने पनि निर्णय थियो ।
कोमिङताङ र कम्युनिस्ट पार्टीको संयुक्त मोर्चाको अधिनमा रहने गरी १९२६ को शरदमा ऐतिहासिक उत्तरी अभियानको सुरु भई सकेको थियो । माओले त्यतिखेर ६ काउन्टीको किसान समिति र राजनीतिक परिस्थितिको निरीक्षण प्रतिवेदन पेस गर्दै किसान आन्दोलनको नयाँ कार्यदिशा अपनाउन आवश्यक भएको बताएका थिए । १९२६ मा कोमिङताङ पार्टीमा च्याङकाइसेकको नियन्त्रण भएपछि कम्युनिस्ट पार्टीको सहयोगी नीति अन्त भयो । माओत्सेतुङले पहिले पनि व्यापक पैमानामा जमिनको पुनर्वितरणको आवश्यकता भएको बताएका थिए ।
मे १९२७ मा आयोजना गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा माओले जमिन्दरहरूका विरुद्ध वर्गसङ्घर्ष सञ्चालन गर्न किसानहरूलाई सशक्त रूपमा आन्दोलित पार्नुपर्ने आवश्यकता औल्याएको भए पनि त्यतिखेरको नेतृत्वले निम्न पँुजीपति वर्गको दक्षिणपन्थी अवसरवादी नीति अपनाउने काम गर्यो । त्यतिखेर नै किसानहरूलाई हतियारबद्ध गरेर देशभरको आन्दोलन छिट्टै सशक्त रूपमा विकास भई अगाडि बढ्न सक्ने सम्भावना थियो । किसान सङ्गठन र आन्दोलनको आधार भएर पनि पाँचौँ महाधिवेशनको नीति जमिन्दारहरूकै पक्षमा बनेको भए पनिपछि महाधिवेशनको लगत्तै पहिलोपटक माओको अध्यक्षतामा अखिल चिनियाँ किसान सङ्गठन हुन सक्यो । त्यसले गर्दा आन्दोलन सशक्त बनाउन सकारात्मक काम भयो ।
त्यसबाट १९२७ को वसन्तसम्ममा अन्य तीन क्षेत्रका साथ विशेष गरी हुनानमा किसान आन्दोलन आश्चर्यजनक रूपमा जुझारु भई विकसित भयो । उच्च अधिकारी र कम्युनिस्ट पार्टीकै नेतृत्व पङ्क्तिबाट आन्दोलन मत्थर पार्ने प्रत्यत्न हुन थाल्यो । तत्कालीन नेतृत्व छनतुस्यूले आन्दोलनबाट आतङ्कित भई माओलाई हुनानबाट फिर्ता बोलायो । उता आन्दोलनरत धेरै किसान र मजदुरहरूलाई प्रतिक्रियावादी सेनाले हत्या समेत गर्यो । त्यसको साथसाथै कोमिन्ताङ र कम्युनिस्टबीचको संयुक्त मोर्चा पनि तोडिएको थियो ।
कम्युनिस्ट पार्टी पनि अस्तव्यस्त अवस्थामा पुग्यो । करिब करिब पार्टीका सबै जिम्मेवार व्यक्तिहरू छन् तुस्युको नेतृत्व र उसको अवसरवादी कार्यदिशा विरुद्ध उभिन थाले । मौकामा छन् तुस्युले दृढ नेतृत्व र स्पष्ट कार्यदिशा अवलम्बलन गर्न नसकेको हुनाले नै पार्टी एक ढिक्का भई अघि बढ्न नसकेको माओको ठम्याइ थियो । छन तुस्यु कुरा गर्न सिपालु थिए, कार्यसिद्धिका बारेमा ध्यान नदिई कुरामा मात्रै अडिने हुनाले त्यस्तो दुर्दशा निम्तिएको थियो । उनको मूल प्रवृत्ति निम्न पँुजीवादी अवसरवादी थियो । त्यसैकारण भयभित भई अगाडि बढे र पराजयको शिकार भए ।
७ अगस्त १९२७ मा पार्टीको केन्द्रीय समितिको असाधारण बैठकले छन् तुस्युलाई सचिव पदबाट हटायो । साथै तत्काल कोमिन्ताङ पार्टीबाट कुनै सहयोग प्राप्त हुन्छ भन्ने आशा पूरै त्याग्यो । किनभने त्यो पार्टी जनवादी क्रान्तिको उत्तरदायित्व पुरै त्यागेर साम्राज्यवादीहरूको कठपुतली भइसकेको थियो । त्यसैले सत्ताका लागि खुला सङ्घर्ष गर्ने दीर्घकालीन योजनासहित काम गर्नुपर्ने भयो ।
माओलाई छाङ्सामा आन्दोलन सङ्गठित गर्न पठाइयो । त्यसपछि सेप्टेम्बरमै विद्रोह सङ्गठित गर्ने काममा सफलता प्राप्त भयो । अनि, मजदुर र किसान सेनाको प्राथमिक युनिट गठन भयो । त्यसलाई मजदुर र किसान क्रान्तिकारी सेनाको पहिलो फौजी कोरको पहिलो डिभिजन भनियो । त्यो बाहेक अरू दुई सैन्य दल पनि हुनान कमिटीको स्वीकृतिमा र केन्द्र्रको अनुमति बिना गठन गरिएका थिए । विरोध भए पनि कम्युनिस्ट पार्टी र चिनियाँ जनताको पक्षमा भएकाले माओत्सेतुङले प्रतिक्षा गरेर बुझ्न सक्ने अवस्थामा गठन गरेका थिए ।
१९३० को अगस्त महिनामा मात्रै माओत्सेतुङको नेतृत्वमा लाल सेनाको पहिलो मोर्चा गठन गरिएको थियो । सङ्गठनको जिम्मा पूरा गर्ने सिलसिलामा कोमिन्ताङ पार्टीका सेनाबाट पक्राउ परेपछि कुनै पनि उपाय प्रयोग गरेर उम्कने काम सफल नभएकाले भागेर र अनेक दुःख–कष्टसाथ झण्डै झण्डै पक्रन सक्ने अवस्था समेतबाट बचेर एउटा किसानको सहयोगमा किसान रक्षक दलको सम्पर्कमा पुगेका थिए । चिङकाङसान क्षेत्रमा माओले गठन गरेको सेनाले प्रतिकृयावादी सेनालाई पटक पटक हराएर बलियो आधार क्षेत्र बनाएका थिए ।
उता च्याङसीमा भने डिसेम्बर १९२९ मा भएको लाल सेनाको चौथो फौजी कोरको नवौँ सम्मेलनले पूरानो गलत नीति छाडेर सम्पूर्ण दक्षिणी च्याङसीमा लालसेनाको कब्जा भएको थियो । माओले लाल सेनालाई १९२८ को सम्मेलनपछि किसानहरूको मन जितेर समर्थन प्राप्त गर्न सकेसम्मको बढी प्रयास गरे । त्यतिखेर लालसेना आफ्नो सबै योद्धाहरूका लागि तीनवटा साधारण नियम पालना गर्नैपर्ने अनिवार्य बनाएको थियो, १. आफ्ना सबै गतिविधिमा आदेशको पालना गर्नुपर्ने, २. किसान र मजदुरका कुनै पनि वस्तु उनीहरूको इच्छाविरुद्ध लिन बन्द गर्ने, ३. जमिन्दारबाट जफत गरिएका सबै सामान आफ्नो सरकारमा जम्मा गर्नैपर्ने ।
ती नियमहरूबाहेक शत्रुका विरुद्ध अन्तिम अवस्थासम्म सङ्घर्षका लागि सहयोग गर्न धेरै आर्थिक सङ्कलन गर्न पनि सिकाइएको थियो । आन्दोलनका कार्यक्रम राजनीतिको आधारमा लालसेनामा रणनीति र कार्यनीति तयार हुने भएकाले सैन्य शक्तिको विकास र सफलता प्राप्त भएको थियो । सेनाका कमान्डरहरू समेतमा राजनीतिलाई मुख्य बनाएर सैनिक कार्यनीति तयार पार्ने अनुभव नभएकाले उनीहरूलाई अभ्यस्त बनाउन पनि केही समय खर्च भएको थियो ।
नियमित लडाइँ र छापामार लडाइँलाई अभ्यस्त बनाएको हुनाले आफ्नो शक्तिभन्दा दशौँ गुणा बढी शक्ति भएको कोमिन्ताङ सेनामाथि विजय सम्भव भएको थियो । मोर्चाबद्ध भएर लड्ने कामबाट बच्ने र चलायमान गतिविधिमा सक्रिय भएको शत्रु शक्तिलाई छापामार प्रकारको आक्रमण गर्ने र आवश्यकताअनुसार अन्य प्रयत्न पनि गरेको हुनाले मात्रै सफलता मिलेको थियो । त्यसबाट निर्णायक क्षमताको पनि विकास भएको थियो ।
आफ्नो विश्व प्रसिद्ध लामो अभियानको सिलसिलामा जनवरी १९३५ सम्ममा सेनाको मुख्य शक्ति क्वेइचाओ प्रान्तको चुनर्ई सहरमा पुगेर आफ्नो राजनीतिक र सैनिक शक्ति सुदृढ बनाउने योजना सहित अगाडि बढ्दै जाँदा अक्टोबर १९३५ मा उत्तरी सेन्सी पुग्यो । त्यहाँ पुगेर चीनको विशाल उत्तर पश्चिमी भागमा आफ्नो मौजुदा आधार क्षेत्रको बिस्तार गरियो । चिनियाँ कम्युनिस्ट पार्टी माक्र्सवाद, लेनिनवादप्रति वफादार भई जनता र समाजवादी ब्यवस्थाप्रति जिम्मेवार रहेर राजनीति गरेको हुनाले लालसेनाको सफलता प्राप्त भएको हो । आफ्नो सकृय शक्ति कायम राख्दै कान्सु र सेन्सीसम्म पुग्ने विजयपूर्ण अभियान सफल भएपछि आफ्नो सत्ता विस्तार गर्दै सम्पूर्ण चीनलाई मुक्त गरेर राज्यसत्ताको बागडोर आफ्नो हातमा लिएर शासन सञ्चालन गर्न पनि माओत्सेतुङको नेतृत्व सफल भएको थियो ।
७ फेबु्रअरी १९४० मा सम्पन्न भएको स्थानीय सम्मेलनमा पार्टी, सेना र सरकारका स्थानीय प्रतिनिधिहरूले भाग लिएर जग्गाको पुनर्वितरण गर्दै च्याङसी प्रान्तीय सोभियत सरकारको गठन गरेका थिए । त्यो निर्णयबाट कोमिन्ताङको सेनालाई विफल पार्न सहयोग मिलेको थियो । १९३३ मा माओत्सेतुङ चिनियाँ कम्युनिस्ट पार्टीको राजनैतिक ब्युरोमा चुनिएका थिए । जनवरी १९३५ को चुनई सम्मेलनले चिनियाँ पार्टीको नेतृत्व माओत्सेतुङलाई जिम्मा लगायो ।
१९३८ मा माओले राष्ट्रिय गुलामी र शीघ्र विजयका गलत नीतिको आलोचना गर्दै संयुक्त मोर्चामा पार्टीको स्वतन्त्रता र पहलकदमीको महत्व पुष्टि गरेका थिए । १९३९ देखि १९४० सम्ममा नौलो जनवादबारे रचना तयार पार्दै संयुक्त मोर्चा सशस्त्र सङ्घर्ष र पार्टी निर्माणबारे स्पष्ट नीति निर्माणको रूपरेखा तयार पारेका थिए । मार्च १९४३ मा माओत्सेतुङ पार्टी केन्द्रीय समिति राजनैतिक ब्यूरोको अध्यक्ष चुनिएपछि सिद्धान्तलाई ब्यवहारका साथ जोड्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम राख्न तथा आत्मालोचना र आलोचनालाई नियमित बनाउने तीन महत्वपूर्ण कार्यशैली अपनाउनेबारे व्याख्या गरे ।
१९४५ मे महिनाको चिनियाँ कम्युनिस्ट पार्टीको साताँै महाधिवेशनदेखि १९७६ सम्मको आफ्नो जीवनकालमा अध्यक्ष पदमा रहे । साथै माओत्सेतुङ विचारधारासमेत स्थापित भयो । १० अक्टोबर १९४२ मा च्याङकाइसेकले नेतृत्व गरेको कोमिन्ताङ पार्टीसँग शान्ति र पुनर्निर्माणको सम्झौता भएको भए पनि १९४३ को गर्मीमा च्याङकाइसेकले सम्झौताको पालना नगरेर चारैतिर गृहयुद्ध चलाएको हुनाले माओत्सेतुङले आत्मरक्षाका लागि शत्रुसेनालाई नष्ट गर्ने र आफ्नो सैन्य शक्ति सुदृढ पार्ने नीति अपनाए ।
कोमिन्ताङ फौजले मार्च १९४७ मा यनानमा हमला गरेपछि पार्टीको मूख्यालय उत्तरी सेन्सी लैजाने कामको नेतृत्व गर्दै माओले राष्ट्रिय मुक्ति युद्धलाई सङ्गठित पार्ने काम गरे । जनमुक्ति सेनाले रक्षात्मक अवस्थाबाट आक्रामक अवस्थामा विकास गर्दै लग्यो । सेनाको फौजी कारवाहीलाई राजनैतिक कारवाहीसँग समन्वयित गर्दै साना सहरहरू कब्जा गर्ने काम समेत अगाडि बढ्यो । जनमुक्ति सेनाको नेतृत्व गर्दै माओत्सेतुङले आफूले विजय गरेको मुक्त क्षेत्रमा भूमि सुधार र आर्थिक निर्माणका काम व्यवस्थित पारेर निरन्तर सहयोग आउने अवस्था मिलाएका थिए । कोमिन्ताङ पार्टीको हार हुने अवस्थामा जादै गर्दा माओले सातौँ केन्द्रीय समितिको दोश्रो बैठकमा क्रान्तिको राष्ट्रव्यापी विजयका लागि तीव्र गतिमा काम गर्न र पार्टीको कामको केन्द्रबिन्दु ग्रामीण इलाकाबाट सहरी इलाकामा लैजाने आह्वान गरे । साथै राष्ट्रव्यापी विजयपछिका नीति निर्माणको तयारीमा लागे ।
१९४९ सेप्टेम्बरमा माओले पेकिङमा चिनियाँ जन राजनीतिक सल्लाहकार सम्मेलनको पहिलो पूर्ण अधिवेशनको अध्यक्षता गर्दै चिनियाँ जनता उठेका छन् । विभिन्न कठिनाइहरूको सामना गर्दै चिनियाँ गणराज्यको केन्द्रीय सरकार सम्पूर्ण जनताको नेतृत्व गर्ने अवस्थामा गइरहेको कुरा बताए । उच्च स्तरमा, आर्थिक र सांस्कृतिक निर्माणसम्बन्धी क्रार्यक्रम चलाउने, पूरानो चीनबाट प्राप्त गरिबी र अज्ञानता हटाउने, जनताका भौतिक र सांस्कृतिक जीवनका प्रत्येक क्षेत्रमा सुधार गर्ने आदि सम्पूर्ण काममा चिनियाँ जनताको नेतृत्व गर्ने वाचासमेत गरे । त्यही वर्षको अक्टोबर एक तारिखका दिन चिनियाँ गणराज्यको स्थापना भएको घोषणासमेत गरेका थिए । लोक गणराज्यको स्थापना भएपछि समाजवादी क्रान्ति र राष्ट्रिय निर्माणको काममा चिनियाँ जनताको नेतृत्व गर्न चाउ एनलाई, ल्यूसाओची, चुतेह, चेनयुन, तेङस्याओपेङ र अन्य सहयोगी नेताहरूको साथ अघि बढेर सफलता प्राप्त गर्ने वचनवद्धता समेत गरेका थिए ।
लोक गणराज्य स्थापना भएको पहिलो तीन वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय जनसरकारले माओत्सेतुङको नेतृत्वमा राष्ट्रव्यापी भूमिसुधार र अन्य जनवादी सुधारका महत्वपूर्ण कार्यक्रम सफलतापूर्वक लागू गरेको थियो । डिसेम्बर १९४९ मा चाउएनलाई र अन्य सहयोगीहरूलाई सहित माओत्सेतुङ रूसको भ्रमणमा गई स्टालिनका साथ चीन–सोभियत मैत्री र पारस्परिक सहयोगको सम्झौतामा हस्ताक्षर गरेर फेबु्रअरी १९५० मा स्वदेश फिर्ता भएका थिए । १९५४ देखि देशमा निजी स्वामित्वलाई सामूहिकीकरण र औद्योगीकरणतिर लग्ने सङ्क्रमणकालीन कार्यदिशा केन्द्रीय कमिटीले पारित गरेको थियो । त्यो समाजवादी रूपान्तरणको कार्यदिशा थियो ।
१९५४ सेप्टेम्बर महिनामा आयोजना गरिएको पहिलो राष्ट्रिय जनप्रतिनिधि सभाले चिनियाँ लोक गणराज्यको संविधान स्वीकार गरेर माओत्सेतुङलाई प्रथम अध्यक्ष चुन्यो । यो पदमा माओत्सेतुङ १९५९ सम्म रहे । १९५३ पछि पार्टीले आफ्नो कामको केन्द्रबिन्दु ठूलो स्तरमा आर्थिक उत्पादन बनाएको हुनाले माओले खासगरी आर्थिक क्षेत्रमा काम गर्ने उच्च अधिकारीहरूलाई आर्थिक सिद्धान्त, आर्थिक नीति र आर्थिक स्थितिमाथि अध्ययन र ध्यान केन्द्रित गर्न आह्वान गरे र त्यसै अनुसार काम अगाडि बढ्यो । माओले अर्थशास्त्र, विज्ञान, प्रविधि र राजनीतिको अध्ययन गरेर विशेषज्ञता हासिल गर्न निर्देशन दिए । त्यसै विषयमा कठिन परिश्रम गरेर आर्थिक आवश्यकता पूरा गर्नसक्ने अवस्थामा पुग्नसमेत निर्देशन दिए ।
अप्रिल १९५६ मा माओत्सेतुङ राजनैतिक ब्यूरोको विस्तारित बैठक आयोजना गरेर चीनको वस्तुस्थितिअनुसार समाजवाद निर्माणको अनुभव बताएर विशिष्ट अवस्था अनुसारको समाजवाद निर्माणको बाटो अवलम्वन गर्न आह्वानसमेत गरे । त्यही वर्षको सेप्टेम्बरसम्ममा उत्पादनका अति आवश्यक साधनहरू सामूहिक स्वामित्वमा रूपान्तरण गरिएका थिए । त्यही महिना पार्टीको आठाँै महाधिवेशनमा सामाजिक उत्पादक शक्तिको विकासका लागि सबैले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता भएको बताएका थिए ।
फेबु्रअरी १९५७ मा जनताबीचका अन्तर्विरोधहरूको सही सञ्चालनका विषयमा रचना तयार गरेर यस प्रश्नलाई चिनियाँ समाजमा राजनीतिक गतिविधि सञ्चालनमा मुख्य कडी भएको बताए । अन्य राजनीतिक दलसँग लामो समयसम्म पारस्परिक सम्बन्ध कायम गर्न र पार्टीभित्र पनि धेरै विचारहरू प्रतिस्पर्धा गर्न दिनुपर्ने बताए । कला र विज्ञानको प्रगति गरेर एक समृद्ध समाजवादी संस्कृति विकासको आवश्यकता र महत्वको बयान गरे, जनवादी केन्द्रीयताको राजनीति विकास गर्नुपर्ने पनि बताए ।
१९५६ को गर्मी यामदेखि माओले दक्षिणपन्थीहरू विरुद्ध कडा रवैया अपनाउन थाले । तत्कालीन चिनियाँ राजनीतिमा समाजवादी बाटो हिँड्ने र पँुजीवादी बाटो हिँड्ने भन्ने अन्तर्विरोध मुख्य राजनीतिक अन्तर्विरोध भएको बताए । नोभेम्बर १९५७ मा अक्टोबर समाजवादी क्रान्तिको चालिसौँ वार्षिकोत्सवमा भाग लिन एउटा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोभियत सङ्घमा गएर समाजवादी देश कम्युनिस्ट पार्टी र मजदुर पार्टीहरूको तथा ६४ वटा कम्युनिस्ट र मजदुर पार्टीहरूको बैठकमा भाग लिदै स्वीकृत भएका दुई वटा घोषणापत्रमा हस्ताक्षर गरे ।
१९५८ को सुरुमा पार्टी र सरकारलाई आफ्नो मुख्य ध्यान प्राविधिक क्रान्ति र समाजवादी निर्माणमा केन्द्रित गर्न जोड दिए । त्यही वर्षको गर्मी र शरदमा ग्रामीण जन कम्युनहरूलाई सङ्गठित गर्ने काम आन्दोलनकै रूपमा अगाडि बढाउन जोड दिए । समाजवादी समाज निर्माणका लागि आवश्यक साम्रगीको उत्पादन वृद्धि गर्न आवश्यक परेको बताए र उत्पादन वृद्धिमा प्रयत्नशील हुन निर्देशनसमेत दिए । जनमुक्ति सेनालाई क्रान्तिकारीकरण र आधुनीकरण गर्ने काममा प्रगति भयो । राष्ट्रिय प्रतिरक्षा प्रणाली सुदृढ बनाएर विज्ञान र प्रविधिको क्षेत्रमा सर्वाधिक उन्नत शाखा बन्नेमा सहयोगी बन्यो ।
सोभियत संशोधनवाद विरुद्ध दृढ सङ्घर्ष चलाएर चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व पनि माओले गरे । चिनियाँ नौलो जनवादी क्रान्तिलाई प्रतिगमनबाट रोक्न र पँुजीवादी बाटो समातेका पार्टीका नेता र उच्च पदका कर्मचारीलाई सङ्घर्षबाट हटाएर तल्लो स्तरका क्रान्तिकारी कार्यकर्ताहरूलाई सत्ता सञ्चालनको जिम्मा लगाउन १९६६ देखि १९७६ सम्म दश वर्षको सर्वहारा सांस्कृतिक क्रान्ति पनि माओत्सेतुङको नेतृत्व र निर्देशनमा चीनमा सञ्चालन भएको थियो । सन् १९७६ मा ८२ वर्षको उमेरमा माओको निधन भयो ।
यो पनि पढ्नुहोस्
समृद्ध नेपालका लागि माओका योगदान स्मरणीय छन् : प्रचण्ड
यी हुन् माओत्सेतुङका सार्वभौम योगदान



लाेकपाटी न्यूज

