काठमाडौं, ११ पुस। पछिल्लो पाँच महिनामा सुनको आयातमा ६३ प्रतिशतले कमि आएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सुनको आयात घटेको हो।
सुनको आयात साउनदेखि मंसिरसम्मको पहिलो पाँच महिनामा ६२.६८ प्रतिशतले घटेको हो। चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरुले १२ सय ५० किलो सनु आयात गरेका छन् भने गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ३३ सय ५० किलो सुन आयात गरेका थिए।
चालु आर्थिक वर्ष सुरु भएदेखि नै सुनको मूल्य लगातार बढेपछि स्थानीय बजारमा सुनको माग ह्वात्तै घटेको थियो। चालु आर्थिक वर्ष लाग्नु पूर्व ६० हजार रूपैयाँ प्रतितोला कारोवार हुँदै आएको सुनको मूल्य साउन लागेसँगै लगातार बढ्दै प्रतितोला ७३ हजार ५ सय रूपैयाँ सम्म वृद्धि भएपछि बजारमा सुनको माग घटेको थियो।
बजारमा माग घटेसँगै आयातमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए। मूल्य बढेका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैकहरूले सुन आयात गर्नै छाडेका थिए।
चीन र अमेरिकाबिचको व्यापार युद्धका कारण लगातार सुनको मूल्य बढेको र सुन आयत नै बन्द भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। ‘मूल्यको प्रभाव एसियन र युरोपियन दुबै देशमा पर्न गयो’ शाक्यले भने ‘त्यसकारण सुरुका ३ महिना त सुन आयत बन्द भयो।’ यतिबेला भन्सार तिरेर आएको सुन स्थानीय बजारमै खपत भइरहेको व्यवसायीको दाबी छ। अहिले नेपालमा भन्दा भारतीय बजारमा सुन महँगो छ।



लाेकपाटी न्यूज