होमस्टेका लागि कृषि बैंकको शुलभ कर्जा

agricultural-bank
लाेकपाटी न्यूज

काठमाडौं। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ। भ्रमण वर्ष २०२० लाई लक्षित गरी कृषि विकास बैंकले होमस्टे सञ्चालन गर्नका लागि २० लाखसम्म कर्जा दिने भएको छ।

कृषि विकास बैंकले होमस्टे खोल्नका लागि पुरूषलाई भन्दा महिलालाई प्राथामिकता दिएको छ। होमस्टे खोल्नका लागि महिलालाई १ प्रतिशत ब्याज छुट गरेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिलकुमार उपाध्यायले जानकारी दिएका छन्।

होमस्टे सञ्चालनका लागि महिलालाई ११ प्रतिशत ब्याजमा ६ प्रतिशत ब्याज सरकारले ब्यर्होर्ने र ५ प्रतिशत व्यक्तिले तिर्नुपर्ने गरी कर्जा दिन लागिएको हो। त्यस्तै पुरूषलाई होमस्टेको लागि पनि ११ प्रतिशतमै कर्जा दिनेछ। तर, सरकारले ५ प्रतिशत ब्याज ब्यार्होर्ने र ब्यक्तिले ६ प्रतिशत ब्याज तिनुपर्ने गरी कृषि विकास बैंकले कर्जा दिन लागेको हो।

सरकारले लिएको भ्रमण वर्ष सफल बनाउने उद्देश्यलाई हेरेर कृषि विकास बैंकले होमस्टेका लागि सहुलियत कर्जा ल्याएको हो। कृषि विकास बैंकका सबै शाखाले यो सेवा दिन सक्ने छन्। सरकारले पछिल्लो समय होमस्टेलाई प्रवर्द्धन गर्दै आएको छ।

कृषि विकास बैंकले खुद्रा करोबारमा, पर्यटन होमस्टे, उत्पादन क्षेत्र, रोजगारी, आय प्रतिपादन गर्छन् भने त्यसले दिएको निर्देशनको परिधिभित्र गर्ने पद्धतिको निर्माणसँगै विस्तार गरी परिमार्जन गर्दै लैजाने उपाध्यायले बताए। उनले भने, ‘जनता र सरकारको पैसा दुरूपयोग नहुने गरी सदुपयोग हुने अवधारण अनुसार उत्पादन क्षेत्र, रोजगारी, आय प्रतिपादन गर्छन भने उक्त क्षेत्रमा कृषि विकास बैंकको स्पष्ट नीति रहेको छ।’