- राजकुमारी ओझा
प्रत्येक वर्षझैं यस वर्ष पनि २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म महिला हिंसा विरूद्धको अन्तर्राष्ट्रिय अभियान मनाइँदैछ। सन १९९१ मा सेन्टर फर ओमन ग्लोवल लीडरभिपको सहयेगमा विभिन्न २० देशका २३ उत्साहित महिलाहरूको एक समूहले लैंगिक हिंसा विरूद्घको १६ दिने अभियान सुरूवात गर्दै यस अभियानमा जुट्न सम्पूर्ण विश्वलाई आव्हान गरेका थिए। यस वर्ष ‘समानता पुस्ताः बलत्कार विरुद्ध ऐक्यवद्धता’ तय गरिएको छ।
यसै सन्दर्भमा हामी महिलामाथि हुने हिंसाको स्वरूपहरू फेरिँदै गएका छन्। कति दाइजो नपाएर, कहीँ बोक्सीको नाममा, कहीँ बलात्कार त कहीँ सामाजिक सञ्जालका माध्यमबाट महिलामाथि हुने हिंसा। हामी भन्छौं, यी सबै घटना रोक्ने सोंचमा परिवर्तन र कडा कानून आवश्यक छ भनेर। तर, पनि हिंसा घट्नुको सट्टा बढिरहेको पाइन्छ। समय समयमा राज्यस्तरबाट हिंसा विरूद्ध लाग्न थुप्रै कदमहरू चालियो। तर, कति सफल भए, कति विफल तथ्याङ्कले देखाउँछ।
यस वर्ष पनि महिला हिंसाका भयावह घटनाहरु घटे, त्यसमध्ये बलात्कारका घटनाहरु उजागर मात्र भएका छैनन्, थप बढ्दै गइरहेको पनि अनुभूति हुन्छ। महिला हिंसा र बलात्कारका घटनामा प्रविधिको विकास र यसको सदुपयोगभन्दा दुरुपयोग बढी हुनुलाई पनि लिन सकिन्छ। यसले सामाजिक चेतना र प्रविधिको विकासबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतिसमेत राज्यसामू उपस्थित भएको अनुभूति हुन्छ।
हाम्रो सामाजिक पारिवारिक संस्कारले पनि यसमा मूख्य भूमिका खेल्दछ। तिमी छोरा हौ, त्यो गर्नुपर्दछ, तिमी छोरी हौ, यो गर्नु हुँदैन आदि इत्यादि। त्यही संस्कारले गर्दा पनि कतिपय परिवारमा महिलाको कुनै अस्थित्व छैन। हरेक संस्कार र संस्कृतिमा लिंगका आधारमा गरिने भेदभावले अन्ततः पुरुषमा पुरुषार्थ र महिलामा हिनतावोधको भावना विकास गराउँछ। प्रकारान्तरमा यो नै महिलामाथि हिंसाको एक क्रुर कारकका रुपमा उपस्थित हुन्छ।
दुर्भाग्य नै भन्नुपर्छ, धेरैजसो बलात्कारका घटना घर परिवारभित्रै र आफन्तहरूबाटै हुने गरेका छन्। बलात्कार पीडितहरूमा सूस्त मनस्थितिका महिला, अपांग बालिका वा महिलाहरूको जनसांख्यिक अनुपात निकै डरलाग्दो देखिन्छ। कुनै समाज कति सुसभ्य छ भन्ने कुराको मापन त्यो समाजका सबैभन्दा शक्तिहीन, आवाजहीन र कमजोर नागरिकलाई गरिने व्यवहारबाट गर्न सकिन्छ। यस्तो समयमा मैले त गरेको छैन भनेर हामी कोही पनि जिम्मेवारीबाट भाग्न मिल्दैन।
नेपालको कानूनअनुसार कसैको मञ्जुरी विना करकाप, डर, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौन क्रियाकलापलाई बलात्कार भन्निछ। कुनै महिलामाथि बलात्कार हुनुमा थुप्रै कारणहरू छन्। तर, तीमध्ये मूख्य कारण चाहिँ महिलाको शरीरलाई वस्तुको रूपमा हेर्ने पितृसत्तात्मक सोंच हो। महिलाको शरीरलाई खेलौना तथा मनोरञ्जनको साधनको रूपमा मात्र हेने पुरूषीय पिकृत चिन्तनका कारण नै महिलामाथि बलात्कारका घटनाहरू हुने गरेको पाइन्छ।
अहिले आखिर हाम्रो सामाजिक, संस्कृति प्रभावित परिवर्तन, आधुनिक बन्ने होडबाजी स्कूल, कलेजमै boy friend र girl friend, अनि विवाह नगरी सँगै बस्ने (living together) आदि कुराहरू पनि यसका लागि जिम्मेवार छन्। बलात्कारी खुलेआम इज्जतसँग बाँच्न पाउने तर बलात्कारको शिकार भएकी महिला जिन्दगीभर त्यो पीडा सहेर समाजका तानाबाना सहेर बाँच्नुपर्ने बिडम्बना। इज्जत त बलात्कारीको गयो भन्ने सामाजिक सोंचको विकास हुनुपर्दछ। तड्पिनुपर्ने बलात्कारी हो, बलात्कारबाट पीडित महिला होइन। हाम्रो समाजमा बलात्कारी पुरूषको इज्जत सुरक्षित हुन्छ। तर बलात्कारको शिकार भएकी महिलाको इज्जत धुजा धुजा। यो हाम्रो कस्तो चिन्तन र संस्कार हो ? यसमाथि पर्याप्त बहस किन हुँदैन, गरिँदैन ?
बलात्कारजस्तो जघन्य अपराधमा जति सजाय तोक्दा नि कम हुन्छ। किन छन् अझै पनि महिलाहरू यति धेरै असूरक्षित ? भर्खर मात्र भोजपुरमा घटेको घटनाले पनि हाम्रो समाजको चरित्र उदाङ्गिएको छ। हाम्रो प्रहरी प्रशासन अनि कानून पनि यसमा हदैसम्म जिम्मेवार छ। दिउँसै खुलेआम महिलाको विभत्स तरीकाले दुवै स्तन काटिएको अवस्थामा फेला पर्नुले महिला हिंसाका यौन आकांक्षा मात्र होइन, आपराधिक सोंच पनि बढ्दै गएको मान्न सकिन्छ। यतिसम्म क्रुर मानिसहरु हाम्रै समाजले पालिरहेको छ।
१६ दिने अभियान चलाइरहँदा गम्भिर भएर बलात्कार र यसको न्यूनीकरणमा कसरी हामी महिलालाई सुरक्षित गर्न सकिन्छ ? fight back again, विभिन्न तालीमहरू स्कूले शिक्षाबाट दिने गरी प्रस्ताव राखी सरोकारवालाहरूसँग आफ्नो सुरक्षा आफैं गर्न सक्षम बनाउने आफ्ना नानीहरूलाई पारिवारिक, शैक्षिक वातावरणमा महिला पुरूष बीचको विभेदलाई अन्त्य गरौं। विशेषगरि सम्पूर्ण नीजि तथा सामुदायिक विद्यालयहरूमा सुरक्षा सम्वन्धि शिक्षा अनिवार्य गराउन पहल गरौं, सूरक्षित सभ्य समाजको निर्माण गरौं। बाँचौं र बॉच्न दिउँ। सम्पूर्ण नेपाली एवं विश्वभर रहनुभएका सम्पूर्णमा महिला हिंसा विरुद्धको १६ दिने अभियानको हार्दिक शुभकामना।



लाेकपाटी न्यूज

