थम्मन थापा\ बागलुङ, २९ कात्तिक । लोक तथा दोहोरी गायक मनोज सिंह धामीले ‘कालापानी हाम्रै हो’ गीत सार्वजनिक गरेका छन्। सुदुरपश्चिमको दार्चुलामा जन्मिएका गायक धामी नेपाली लोक दोहोरी क्षेत्रमा अनवरत गीत संगीत प्रस्तुत गर्दै आइरहेका छन्। यस पटक देशको स्वाभिमानको संरक्षण सम्वद्र्धनको निम्ति शिवदर्शन फिल्मस्को युट्युब च्यानलमार्फत् देशको सीमाना मिचिएको भावमा गीत प्रस्तुत गरेका छन्। उक्त गीतमा लय, शब्द तथा संगीत गायक स्वयम धामीको रहेको छ।
गीतमा गायक धामीलाई लोकप्रिय गायिका पूर्णकला बिसीले साथ दिएकी छिन्। नेपालको कालापानी लिपुलेक र लिम्पियाधुरा समावेश गरी भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि अहिले देशभर विरोध भइरहेको छ। यसै सन्दर्भमा गायक धामीले आफ्नो तर्फबाट जन्मभूमिको रक्षार्थ सो गीत सार्वजनिक गरका छन्।
गीतलाई समाजसँग जोडेर सृजना गर्ने सर्जक धामीले सार्वजनिक नयाँ गीतमा भारतले नेपाली भूमि मिचेर दादागिरी गरेको कुरालाई लक्षित गर्दै सो नेपाली भूमि भारतले छोड्नुपर्ने उल्लेख रहेको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दार्चुला जिल्ला अध्यक्षसमेत रहेका कलाकार धामीको गीतमा भारतबाट मध्यरातमा सीमानाका पिल्लर सारिने गरेको, सीमा विवादले नेपाली जनता मारिने गरेको र यस अगाडि भएका राष्ट्रघाती सन्धी सम्झौता खारेज गरिनुपर्ने माग गरिएको छ।
नेपालमाथि भारतीय विस्तारवादको गिद्दे आँखा जहिले परिरहने भएकाले सीमामा नेपाली सेना खटाउनु आवश्यक रहेको उनिहरुले औंल्याएका छन्। विश्वको अग्लो शिखर सगरमाथाको शान र नेपालीको पहिचान चुक्न दिन नहुने उनिहरुको गीतमार्फत् जोड रहेको छ। नेपाल–चीन जोड्ने दार्चुलाको तिङकर सडकखण्ड खोलेर भारतको घमण्ड तोड्नुपर्ने र आज नगरे भोलि कसले गर्छ भन्दै अमर सिं थापा र बलभद्र कुँवर झै बलि चढेर भए पनि नेपालको रक्षार्थ सबैले एकजुट भएर लड्न उनीहरुले सबैसँग आग्रहसमेत गरेका छन्।



लाेकपाटी न्यूज

