काठमाडौं, २४ कात्तिक । लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। गएराती आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको हो।
लेष्टर सिटीले आर्सनललाई २–० ले हरायो। लेष्टर सिटीको जितमा जेमी भार्डी र जेम्स म्याडिसनले एक एक गोल गरे। गएराती भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० ले हरायो। खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहम र क्रिश्चियन पुलिसिचले एक एक गोल गरे ।
प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले साउथह्याम्पटनलाई २–१ ले हराउँदा बर्न्लेले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले तथा न्युकासल युनाइटेडले बर्नमाउथलाई २–१ ले हराएका छन्। गएराती टोटनह्याम हट्सपरलाई शेफिल्ड युनाईटेडले १–१ गोलको बराबरीमा रोकेको छ ।
गएरातीका खेलहरुपछि १२ खेलबाट २६ अंक जोड्दै लेष्टर सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान २६ अंक जोडेको चेल्सी गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ। एक खेल कम खेलेको म्यान्चेस्टर सिटी २५ अंकसहित चौथो स्थानमा झर्दा शिर्ष स्थानको लिरभपुलको ३१ अंक छ ।



लाेकपाटी न्यूज

