काठमाडौं, १० कात्तिक। तिहारको तेस्रो दिन लक्ष्मी पूजा गरिँदैछ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नाले घरमा लक्ष्मीको बास हुने तथा सुख शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।
बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ छ। त्यसै अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गर्ने प्रचलन छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्विरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ ।



लाेकपाटी न्यूज

