एजेन्सी। इटालियन सिरी ‘ए’ फुटबलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा निर्णायक गोल गरेपछि युभेन्ट्सले कठिन जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्ट्सले हेलास भेरोनालाई २–१ गोलले हरायो ।
युभेन्ट्सको जितमा आरोन राम्से र रोनाल्डोले गोल गरे । भेरोनाका लागि मिगुइल भेलोसोले गोल गरेका थिए। भेरोनाका लागि भेलोसोले २०औं मिनेटमा सुरुवाती गोल गरेका थिए। घरेलु टोलीविरुद्ध भेरोनाका स्यामुइल डि कारमाइनले पेनाल्टी चुकाएका थिए। त्यसपछि ३१औं मिनेटमा राम्सेले रोनाल्डोको पासमा बराबरी गोल फर्काए। ४९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गरेको गोल युभेन्ट्सका लागि निर्णायक बन्यो।
कोरे गन्टरले युभेन्ट्सका जुआन कोर्डाडोलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले सही सदुपयोग गरे। खेलको अन्तिममा भेरोना १० खेलाडीमा समेटिएको थियो। मारास कुम्वुला दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थियो। जितसँगै चार खेलबाट १० अंक बनाएको युभेन्ट्स दोस्रो स्थानमा छ । समान खेलबाट चार अंक बनाएको भेरोना १२औं स्थानमा छ ।
अर्को खेलमा इन्टर मिलानले एसी मिलानलाई २–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। इन्टरको जितमा मार्सेलो ब्रोजोभिकले ४९औं र रोमेलु लुकाकुले ७८औं मिनेटमा गोल गरेका थिए। जितसँगै इन्टरले चारखेलबाट १२ अंक बनाएको छ। ६ अंक बनाएको मिलान सातौं स्थानमा छ। अर्को खेलमा ब्रेसिकाले उडिनेसलाई १–० गोलले पराजित गरेको छ।



लाेकपाटी न्यूज

