गायिका शाहको ‘बाटैमा रैछ घर तिम्रो’ गीत सार्वजनिक (भिडियो)

Rekha shah pic
लाेकपाटी न्यूज

काठमाडौं, २ असोज। नेपाली संगीतका विभिन्न विधामा आफ्नो आवाज जादुमयी स्वर पस्किरहेकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘बाटैमा रैछ घर तिम्रो’ सार्वजनिक गरेकी छिन्। यो गीत शाहले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

राजनराज शिवाकोटीको रचना तथा संगीत रहेको सो गीतमा राजनराज शिवाकोटीले उनलाई गायनमा साथ दिएका छन्। जनबोलीका शब्दलाई प्रेम-प्रणयका भावमा उतारिएको सो गीत आफ्ना अघिल्ला गीतहरूजस्तै लोकप्रिय हुने र स्रोता तथा दर्शकको माया पाउनेमा आफू विश्वस्त रहेको गायिका शाह बताउँछिन्।

शाह भन्छिन्, यो गीतमा प्रयोग भएका शब्द, संगीत र संगीत संयोजन नयाँ छ, सबैको तालमेल मीठो भएकोले यो गीतलाई सबैले पक्कै गुनगुनाउनु हुनेछ, मैले धेरै गीतहरूमा टिपिकल नेपाली शब्दहरू प्रयोग गरें, जसलाई सबैले मन पराइदिनुभयो, यो गीतमा पनि दन्तैमा रैछ मोहनी जस्ता शब्दको प्रयोग गरेको छु, आशा छ, यो गीत पनि सबैको प्रिय बन्नेछु, राजनराज शिवाकोटी बताउँछन्।

गोविन्द राईको कोरियोग्राफी रहेको सो गीतमा नेपाली म्युजिक भिडियोमा अभिनयमार्फत् तहल्का मच्चाइरहेकी मोडल अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ। नितिन चन्दले निर्देशन गरेको सो भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन्।

१५ वर्षको उमेरमा सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा बोलको गीत गाएर रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी रेखा शाहले नेपाली संगीतमा २५ वर्ष लगानी गरिसकेकी छिन् । लोकगीतबाट सुरु भएको उनको यात्रा आधुनिक, पाश्चात्य, फ्युजन हुँदै गीतका विविध विधामा फैलिंदै छ।

चण्डीप्रसाद काफ्लेसँग शास्त्रीय संगीतको सिनियर डिप्लोमा तहको गायन अभ्यास गरिरहेकी उनले गत वर्ष जेन्डर स्टडीमा त्रिभुवन विश्वविधालयबाट स्नातकोत्तर तहको औपचारिक अध्ययन पूरा गरेकी छिन्। समाज सेवामा समेत सक्रिय गायिका शाहका आधा दर्जन गीति एल्बम प्रकाशित छन्। दर्जनौं चर्चित गीत गाएकी शाहले यही गीतको प्रकाशनसँगै संसारभरका नेपालीमाँझमा कन्सर्ट गर्ने तयारी गरेको बताएकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्