काठमाडौं, २७ भदौ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबललाई चलायमान बनाएको छ। उमेर समूहदेखि सिनियर पुरुष र महिला टोलीले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन्। तर, पनि नेपाली फुटबल दक्षिण एसियाली क्षेत्रमै उपाधिका लागि संघर्ष गरिरहेको छ।
नेपाली पुरुष टोलीले सहभागिता जनाउने प्रतियोगितामा गोल हुन नसक्दा कतिपय समय उपाधि दाबेदारीबाट चुक्दै आएको छ। त्यस्तै, महिला टोलीको हकमा पनि उपाधि नै ल्याउन भने टीम चुकिरहेको छ। तर, पुरुष टोलीको भन्दा गोल संख्यामा भने महिला खेलाडी निकै अगाडि देखिएका छन्।
नेपाली फुटबलमा पुरुष खेलाडी व्यक्तिगत अहिलेसम्म सर्वाधिक अन्तर्राष्ट्रिय गोल संख्या १३ छ । जसमा दुई जना पूर्व फुटबलरले समान १३–१३ गोल गरेका छन्। हरि खड्का र निराजन रायमाझी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन्। सक्रिय खेलाडीहरुमा भने भरत खवासको गोल संख्या १० पुगेको छ।
यता, महिला खेलाडीको हकमा अन्तर्राष्ट्रिय गोलमा पूर्वराष्ट्रिय टोलीकी कप्तान अनु लामाले सर्वाधिक ३५ गोल गरेकी थिइन्। त्यसलाई बिहीबार किर्गिस्तानको नादेझ्दा कपको फाइनलमा दुई गोल गरेकी सावित्रा भण्डारीले बराबरी गरिसकेकी छन्।
राष्ट्रिय महिला टोलीमा सन् २०१४ मा डेब्यु गरेकी साबित्राले ५ वर्षको अबधिमा ३५ गोल गरिसकेकी छन्। अब सावित्रालाई सर्वाधिक गोलकर्ता बन्न मात्रै एक गोलको आवश्यकता छ। अहिले सावित्रा र अनुको नाममा महिला टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको नाम आउँछ।
सावित्राले किर्गिस्तानमा रहँदा ४ खेलमा ७ गोल गर्दै उक्त प्रतियोगितामा सर्वाधिक गोल कर्ता समेत भइन्। यद्यपि नेपाली टोली फाइनलमा उज्वेकिस्तानसँग पराजित भएपछि उपविजेतामै सिमित रह्यो। विश्व फुटबललाई हेर्ने हो भने पनि पुरुष फुटबलको तुलनामा महिला फुटबलले त्यस्तो धेरै उचाइ लिन सकिरहेको छैन। तर पनि पछिल्लो समय महिला फुटबल र महिला खेलाडीको पारिश्रमिक देखि हरेक कुराहरुको बहस विश्व बजारमा चुलिरहेको छ।



लाेकपाटी न्यूज

