–दिपेन्द्र बास्तोला
काठमाडाैं । रवि काण्डमा हामीले रविका पछुवालाई रवि भक्त भन्यौं। तर, हाम्रो पोस्टमा आएर नानाथरी शब्द प्रयोग गरेर सामाजिक संजाल फोहर गर्नेदेखि अश्लिल शब्द प्रयोग गर्नेसम्म देखियो। यसमा राजनीतिक, सामाजिक चेतनाको कमि देखियो। सभ्य समाज रुपान्तरण गर्ने रविको अभियानमा यस्तो दुर्गन्धित गर्ने सामाजिक संजाल, मिलेर बसेको समाज र आफन्तहरुबीच विवाद बढाउने रविको कामले कुनै हालतमा सभ्य समाजको विकास हुँदैन।
राजनीतिक र पत्रकारिता फरक पाटो हो, राजनीतिक र कलाकारिता फरक पाटो हो । न्यायालय, सुरक्षा प्रशासन र संवैधानिक अङ्ग सबैको आ–आफ्नो क्षेत्राधिकार हुन्छ र छ, किन एउटै सम्यन्त्रले सबै चलाउन खोज्दैछ हाम्रो देशमा ? यसको कारण के हो ? कसले बुझ्ने, यस्तो मनोवृत्तिलाई छाडा छोडेर जिम्मेवार निकाय आँखा चिम्लेर बस्न मिल्छ ? राज्य के को लागि ? हामी रवि प्रवृत्तिको विरोध मात्र होइन, घोर भत्र्सना गर्छौं। तर, त्यो भन्दा धेरै राज्यप्रति आक्रोश व्यक्त गर्न चाहान्छाैं। किनभने, किन काम गर्न सक्दैन यो सरकार ? किन जनतामाथि करको भार थुपार्ने अनि जनतालाई दिने सेवा सुविधा नदिने ? हिजो त्यही करले सबै पुग्ने सेवा सुविधा आज करको मार जनतामाथि थोपरेको के का लागि ? संघीयता पाल्नको लागि मात्र हो भने बेलैमा सोचौं कि, यति सानो मुलुकमा यस्तो महङ्गो संघीयनाले जनतामा नैराश्यता मात्र ल्याएको छ नेतालाई पाल्ने काम मात्र भयो भनेर।
जनतामाथि राजनीतिक दलमा निराशा छायो र भोलि यो निराशा भड्कियो भने यो सँगै अहिलेका राजनीतिक नेतृत्व समेत सकिन सक्छन् । त्यसैले कामले काम सिकाउँछ। यस्लाई मितव्ययीता अपनाउँदै जनतासँग संघीयता जोडिनु पर्यो। त्यस्ले जनताको मन जितेर यसको औचित्य पुष्टि गर्न सक्नु पर्यो अन्यथा रवि प्रवृत्तिको खेल दोहोरिरहन्छ।
आज बेरोजगारीले सीमा नाघेको छ। कृषि व्यवसायी निराश छन्। दूध बाटोमा फाल्नु पर्ने, अण्डा बाटोमा फाल्नु पर्ने, तरकारी किसानकै बारीमा कुहिनु पर्ने। जब बिचौलियाको हातमा जान्छ उपभोक्ताले २०० गुना महङ्गोमा किन्नुपर्छ। यसको जिम्मेवार निकाय के हो ? यसमा रवि प्रवृत्ति हाबी भयो र खेल्ने मौका पायो। न्यायालय छिटो छरितो भएन। एउटा डाक्टरले बिरामी जाँचेको ५०० लिन्छ त्यो न्यायालय जाँदा कति तिर्ने एउटा निवेदन लेखेको, कति तिर्ने एउटा मुद्दाको, कति समयमा छिनोफानो गर्ने केश, यदि त्यो समयमा फैसला नगरे त्यस्को क्षतिपूर्ति कति तिर्ने जस्ता कुराको सुनिश्चित नहुनाले रवि प्रवृत्ति हाबी भयो।
यस्ता कुराले जनतामा परेको दुःखको जिम्मेवारी कसले लिने ? वैदेशिक रोजगारमा पनि त्यस्तै छ। करोडौं खर्च गरेर दूतावास राखिन्छ । तर, त्यसले किन हेर्दैन नेपाली श्रमिक विदेशमा अलपत्र हुँदा ? श्रम विभागले किन चासो राख्दैन ? यदि आफ्नो नागरिकको सुरक्षा दिन नसक्न्ने हो भने वैदेशिक रोजगार बन्द गरी स्वदेशमै रोजगार सिर्जना गरी रोजगारी गर्ने वातावरण बनाउनु पर्छ। अन्यथा रवि प्रवृत्ति यसरी नै झांगिरहन्छ। मौकामा चौका हान्ने खेल हुन्छ र यसभित्र प्रेतआत्माहरु सलबलाइरहन्छन्। अझ नेपाली राजनीतिकमा नरामोसँग झांगिएको एउटा मनोदशा छ त्यो हो परिवारवाद र बन्धुत्ववाद ।
यसको अविलम्ब अन्त्य हुन जरुरी छ। योग्य क्षमतावान् र जिम्मेवारपूर्ण नेतृत्व चयन गरौं । एउटा प्रशासक असल भइदिँदा देश उज्यालो हुँदो रहेछ। एउटा नेतृत्व असल हुँदा राष्ट्रप्रेमी भइँदोरहेछ, एउटा विचार असल सोचका साथ अगाडि बडे लाखाैं जनता मर्न तयार हुने रहिछन् भन्ने पाठ हामीले देखिसक्यौं, भोगिसक्यौं। त्यसैले हामी अब आफू र परिवार भन्दा माथि उठेर देश र राष्ट्रलाई शिरोधाय गर्ने कि नगर्ने ? यदि नगर्ने हो भने फेरि उही प्रवृत्तिले देशलाई निल्ने छ, मेरो देश फेरि १०० बर्ष पछाडि हुनेछ।
अन्त्यमा, लाग्ला फेरि म रवि विरोधी जस्तो तर बिल्कुल हैन। मेरो भनाई जिम्मेवार निकाय कुन ? कसले के काम गर्ने ? कसको के काम हो ? सबैलाई दल खोलेर राजनीतिक गर्ने अधिकार छ तर आफ्नो पेशा तथा जिम्मेवारीको मर्यादामा बस्ने कि नबस्ने ? रविले पत्रकारिताको मर्यादा छोडेर न्याय, प्रशासन, सेवा गर्दै जाँदा उस्लाई मर्यादा नागिस् भनिरहँदा राजनीतिक नेतृत्वले आफ्नो जिम्मेवार पूरा गर्ने कि नगर्ने ? हो, त्यसैले सबैले जनतालाई दिने सुरक्षा, न्याय, दुःखमा सहयोग र आफ्नो आवाज सहज रुपमा सम्बन्धित निकायमा राख्न सक्ने पहुँच साधारण जनातालाई होस्।
सम्बन्धित निकाय गैरजिम्मेवार बन्ने हो भने यस्तै हुन्छ। त्यसैले आफ्नो जिम्मेवार क्षेत्र जे हो आजैबाट जिम्मेवार बनौं । राज्य काममा जिम्मेवार बनेर अगाडि बढोस् । जनताले आनन्दको महसुस गर्न पाउन्, सायद यस्तो भए एउटा कलाकार, पत्रकार, सबै आ–आफ्नो काममै हुन्थे होलान् । यस्ता र यस्तो प्रवृत्तिको निरुत्साहित गर्ने जिम्मा राज्यको काम हो । जनता त जहाँ सहज र न्याय अनुभूति तत्काल पाउँछन् त्यतै जान्छन्। नेतृत्व जिम्मेवार बनौं, जनताले सरकारको काम हेरेर असल कामको सम्मान गर्दै आफ्नो देश अनि देश भित्रका सबै निकायहरुको सम्मान गर्दै विश्वास गर्न सक्छन् । अन्यथा जनता हावासरि जता पनि बहकिने छन्।



लाेकपाटी न्यूज

