नवनियुक्त उपकुलपति त्रिपाठीलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

लाेकपाटी न्यूज

काठमाडौं, ११ भदाै। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विश्वविद्यालय समितिले एउटै व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा अध्यक्ष (रेक्टर) हुन नमिल्ने भन्दै प्रा. डा. सुधा त्रिपाठीलाई कुनै एक पदबाट राजीनामा दिन माग गरेको छ।

त्रिभुवन विश्वविद्यलयका उपकुलपति तीर्थ खनियाँको चार वर्षीय कार्यकाल सकिएपछि सरकारले रेक्टर त्रिपाठीलाई नै तीन महिनाको लागि उपकुलपति तोकेपछि नेविसंघले दुवै पदमा एक व्यक्ति रहन नमिल्ने भन्दै कुनै एक पदबाट राजीनामा दिन  माग गरेको हो ।

नेविसंघ विश्वविद्यालय समितिका अध्यक्ष हरि आर्चाय नेतृत्वको टोलीले बुधबार दिउँसो नवनियुक्त उपकुलपति त्रिपाठीलाई भेटी शिक्षाध्यक्ष वा उपकुलपति मध्ये कुनै एक पदबाट राजीनामा दिन सुझाव दिएको छ।

नेता आचार्यका अनुसार विश्व विद्यालयको ऐन, नियम, इतिहास, परम्परा र संस्कार तथा शक्ति पृथकीकरणको सिद्धान्त अनुसार एक व्यक्ति दुई पदमा बस्न मिल्दैन। यस्तै नेविसंघ विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावलका अनुसार उपकुलपति त्रिपाठीलाई कुनै एक पदबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिइएको छ ।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) मा विश्वविद्यालयका पदाधिकारीको पदा रिक्त रहँदा उक्त पदमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदााधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयका कुनै वरिष्ठ प्राध्यापकलाई तोक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्