म शीर्ष गोलकर्ता हुँ

Messi-vs-Ronaldo pic
लाेकपाटी न्यूज

काठमाडौं, २९ साउन। २१ औं शताब्दीको विश्व फुटबल दुई स्टार खेलाडीको वरिपरि घुमिरहेको छ।यी दुई खेलाडीभन्दा बाहिर गए नयाँ पुस्ताले स्थान पाउनेछ।

ती हुन्, अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डो। पछिल्लो १५ वर्ष यी दुई खेलाडीबीचको उत्कृष्ट भन्ने चर्चा सधैं चलिरह्यो। दुबै स्टार खेलाडीले सायदसँगै बसेर कहिल्यै आफ्नो तुलाना गरेनन्।तर, यीनका प्रशंसकले सधैं एकलाई राम्रो, अर्कोलाई नराम्रो भन्नमै समय खर्च गरिरहे।

कहिले काहिँ सञ्चारकर्मीले मेस्सी र रोनाल्डोलाई २ जनामध्ये को उत्कृष्ट भनेर प्रश्न गरे भने दुबै जना आफूहरुको योगदानमा क्लबले पाएको सफलता र व्यक्तिगत सफलतालाई देखाउने गर्छन्। यदि सञ्चारकर्मीले मेस्सी र रोनाल्डोलाई एकै खाले प्रश्न सोधे भने रोनाल्डोको जवाफ सिधा हुन्छ भने मेस्सीले ‘डिप्लोम्याटिक’ जवाफ दिन्छन्।

हालैको एक अन्तर्वार्तामा रोनाल्डोले दिएको जवाफ अहिले चर्चामा छ। अन्तर्वार्तामा रोनाल्डोलाई मेस्सीसँग तुलना गरेर प्रश्न सोधिएको थियो। जसको जवाफमा आफू मेस्सीभन्दा कसरी फरक छु भनेर स्पष्ट पार्न खोजेका छन्। ‘म र मेस्सीबीचको फरक त्यही हो, मैले विभिन्न क्लबबाट च्याम्पियन्स लिग जितेको छु। म च्याम्पियन्स लिगमा लगातार ६ सिजनसम्म उच्च गोलकर्ता पनि हुँ। त्यहाँ धेरै खेलाडी छन्, जसले ५ पटक च्याम्पियन्स लिग जीतेका छन्। त्यसैले यो च्याम्पियन्स लिगमा आफ्नो पहिचान बनाउन सफल भएको छु,’ रोनाल्डोले मेस्सीसँग तुलना गरिएको सवालका जवाफमा भने ‘मेस्सी एक उत्कृष्ट खेलाडी हुन्। उनले बालन डि ओर जीतेका कारणमात्रै सम्झिनु पर्ने होइन उनको खेलमाथिको सुधारलाई लिएर पनि हो। मेरो जस्तै, वर्षैपिच्छे।’

३४ वर्षीय रोनाल्डोले इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड, ला लिगको रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका छन् भने गएको वर्ष रोनाल्डो इटालीयन क्लब युभेन्ट्स पुगेका छन्। रोनाल्डोले युभेन्ट्सबाट पनि च्याम्पियन्स लिग जीत्ने लक्ष्य रहेको बताउँदै आएका छन्। रोनाल्डोले आफू फरक रहेको बताउँदा मेस्सीको प्रतित्रिक्रया भने आइसकेको छैन्।