काठमाडौँ, २२ साउन । नेपालको व्यपार व्यवसायमा नीतिगत तहमै ‘स्टार्ट अप कल्चर’को विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल सुरु गरेको छ । परम्परागत ढङ्गबाट सञ्चालित नेपालको व्यापार व्यवसायलाई नवीनतम ढङ्गले सञ्चालन गर्नका निम्ति मन्त्रालयले पहल सुरु गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको पहलमा नेपालमा नीतिगत तहमै ‘स्टार्ट अप’ (क्तबचतगउ) लाई बुझ्ने र यसको विकासका निम्ति चाहिने आवश्यक सहयोगको बारेमा विभिन्न दातृ निकायसँग छलफल सुरु भएको हो । सोही क्रममा यसको विकाका निम्ति चाहिने आवश्यक वातावरण बारे स्वीस राजदुतावासको सहयोगमा मन्त्रालय तथा अन्य सम्बन्धित निकायका पदाधिकारीहरुसित मन्त्री यादवले छलफल गरेका हुन् ।
सो छलफलको क्रममा नेपाल ईकोनोमिक फोरमको तर्फबाट सुजित शाक्यले यस बारेमा प्रस्तुतीकरण गरेका थिए भने मन्त्री यादवले ‘स्टार्ट अप’को वर्तमान अवस्था, यसको नीतिगत व्यवस्था तथा विश्वमा भइरहेको यसको ट्रेण्डको बारेमा चासो व्यक्त गरेका थिए ।
छलफलमा मन्त्री यादवले ‘स्टार्ट अप’लाई परम्परागत व्यवसाय भन्दा भिन्न दृष्टिकोणबाट हेर्नुपर्ने आजको आवश्यकता रहेको बताए । ‘स्टार्ट अप कल्चर’ को विकास तथा नवीनतम व्यवसायको संरक्षण नगरी आजको युवा पुस्तालाई उद्यमशील बनाउन नसकिने बताउँदै मन्त्री यादवले प्रविधि, नवीनता तथा सीपको सही समिश्रणले नै नेपालको ‘स्टार्ट अप’ वातावरणलाई मलजल गर्ने कुरामा विश्वस्त रहेको बताए । साथै उद्योग मन्त्रालयले यसको लागि पहलकदमी समेत अगाडि बढाइसकेको जानकारी उनले गराए ।



लाेकपाटी न्यूज