पठाओको ट्याक्सी सेवाः कसरी लिने, कस्ता छन् फाइदा ?

लाेकपाटी न्यूज

काठमाडाैं । दुई पांग्रे सार्वजनिक यातायात सेवा दिँदै आएको कम्पनी पठाओले अब चार पांग्रे सार्वजनिक सेवा पनि दिने भएको छ। यसका लागि कम्पनीले राजधानीमा ट्याक्सी सेवा सुरु गर्ने तयारी गरेको हो।

उपभोक्ताले पठाओको सेवा अत्यधिक रुचाएको भन्दै कम्पनीले आउने शुक्रबारदेखि ट्याक्सीमार्फत सेवा दिने तयारी गरेकाे बताएकाे छ । कम्पनीकी मार्केटिङ प्रमूख सुरक्षा हमालले भनिन्, ‘दुईपांग्रेमा उपभोक्ताहरुको धेरै आकर्षण रह्यो, त्यहीअनुसार चारपांग्रे सेवाको पनि माग भइरहेको हुनाले यसको सेवा यही शुक्रबारदेखि सञ्चालन गर्नलागेका हौँ।’

कम्पनीले सार्वजनिक ट्याक्सीहरुबाट पठाओकाे चार पाङ्ग्रे सेवा सुरु गर्न लागेको हो। उक्त कम्पनीमा हाल तीन सयवटा ट्याक्सीहरु आबद्ध भइसकेकाे जनाइएकाे छ ।

कसरी सेवा लिने ?
सार्वजनिक ट्याक्सीहरुले आफ्नो कागजात पठाओलाई बुझाउनुपर्ने हुन्छ। त्यहीअनुसार कम्पनीले ट्रेनिङ समेत दिने गर्छ। अहिले पनि कम्पनीले आबद्ध हुन आइरहेको ट्याक्सीहरुलाई सेवाबारे तालिम दिइरहेको छ । हाल पठाओको एपमा ट्याक्सी विकल्प छानेर यो सेवा लिन सकिने कम्पनीले बताएको छ।

यसमा सरकारले राखेको मिटरको नियम पालना भने हुनै पर्ने कम्पनीले जनाएको छ। यस्तै ट्यासीवालाहरुले कम्पनीलाई दिने कमिसन भने मोटरसाइकलअनुसार नै हुने तर एकीन भने नभइसकको हमाल बताउँछिन्। पठाओमा आबद्ध भएका मोटरसाइकलले १ हजार आम्दानी गरेको खण्डमा २ सय रुपैयाँ कमिसन दिनुपर्ने व्यवस्था छ।

ट्याक्सीभन्दा यसमा के फरक ?
हाल पठाओबाट आउने सेवा पनि सार्वजनिक ट्याक्सीकै हो। कम्पनीको व्यवस्थाअनुसार नै अहिलेभन्दा एकसय रुपैयाँ अझ महंगो हुने देखिन्छ। तर सामान्य ट्याक्सीभन्दा यो बढी सुरक्षित हुने कम्पनीले दाबी गरेको छ।

कम्पनीको अनुसार ट्याक्सीले कुनै किसिमको बदमासी गरेमा उसको सबै कागजातदेखि सबै ठेगाना समेत पठाओसँग हुने भएकाले सामान्य ट्याक्सी सेवाभन्दा यो बढी सुरक्षित हुने कम्पनीको दाबी छ। त्यस्तै अफिस वा घरबाट निस्किँदा सडकमा नै गएर ट्याक्सी खोज्नुपर्ने झञ्झटबाट समेत मुक्त हुने कम्पनीको तर्क छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्