सुनको मूल्य अहिलेसम्म कै उच्च, कति पुग्यो तोलाको ?

gold pic
लाेकपाटी न्यूज

काठमाण्डौं, २२ साउन। सुनको भाउ उकालो लाग्ने क्रम बुधबार पनि चलेको छ। बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो भाउ अहिलेसम्मकै महँगो हो ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ। मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो। भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महँगो भएको हो।

अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको महासंघ अन्तर्गत मूल्य निर्धारण समितिले जनाएको छ। समिति संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस १५ सय डलरसम्म पुग्ने अनुमान छ।

अहिले विश्वभरी नै अर्थतन्त्रमा समस्या बढेकाले सुनमा लगानीकर्ताको आकर्षण बढेको छ। सुनमा लगानीकर्ताको आकर्षण बढेसँगै भाउ महँगो भएको हो। यसैबीच भाउ महँगो भएपछि सुनको कारोबार ठप्प जस्तै भएको छ।

२२ वटा वाणिज्य बैंकले आलोपालो गरेर दैनिक २० किलो सुन दिने गरे पनि भाउ महँगो भएसँगै व्यवसायी बैंकमा जान छाडेका छन्। चाँदीको भाउ पनि आज बुधबार तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय १० रुपैयाँ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्