झापा, ९ साउन। झापाको दमक नगरपालिका १ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार अपराह्न ४ बजे २५–३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो। उक्त कार्यमा संलग्न ९ जनालाई प्रहरीले बिहीवार पक्राउ गरेको हो।
छुरा प्रहारबाट दमक नगरपालिका २ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक ३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका थिए। घाइतेमध्ये भण्डारीको विर्तामोडस्थित बिएण्डसी अस्पताल र भुजेलको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।
घटनालगत्तै फरार रहेकामध्ये प्रदेश नं. १ को प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इप्रका दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।



लाेकपाटी न्यूज

