काठमाडौं, २८ असार । ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबारबाट मलेसियासँग २ म्याचको टी–२० सिरिज खेल्दैछ।
उसैको घरेलु मैदानमा हुने सिरिजलाई नेपालले सिंगापुरमा अर्को साताबाट सुरु हुने आईसीसी टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको अभ्यासका रुपमा लिएको छ। कमजोर प्रतिद्धन्दी मलेसियासँगको २ म्याचको श्रृंखला अन्तर्गतको पहिलो खेल क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने ८ बजे सुरु हुनेछ।
नेपाल र मलेसियाबीच पहिलोपटक हुन लागेको ट्वान्टी–२० सिरिजमा आज राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ओपनिङ गर्ने भएका छन्।
मलेसियासँगको सिरिजलाई क्लिन स्विप गर्दै एसियाली छनोटमा उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा रहेको नेपाल, पहिलो खेलबाटै शानदार जितको योजनामा हुनेछ। टी–२० क्रिकेटमा मलेसियासँग भएका यसअघिका ४ भेट मध्ये ३ खेलमा जित हात पारेको आंकडाले पनि नेपाल बलियो देखिएको छ।
दोस्रो खेल भने सोही मैदानमा भोलि हुनेछ। २ खेलको सिरिज सकेर केही दिनको मलेसिया अभ्यासपछि नेपाली टोली उतैबाट सिंगापुर जानेछ। जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुने एसियाली छनोटमा नेपालसहित सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन्। जुलाई २३ मा कतारसंग प्रतिस्पर्धा गर्दै नेपालले एसियाली छनोटको सुरुवात गर्नेछ। एजेन्सी


लाेकपाटी न्यूज

