पोखरा, २३ असार। सङ्घीय सरकारका खानेपानी मन्त्री बिना मगरले शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण भएको बताएकी छिन्। सोमबार पोखरामा आयोजित प्रकाश दाहाल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै मन्त्री मगरले उक्त कुरा बताएकी हुन्।
प्रकाश दाहालको ३८ औं जन्म जयन्तीको सन्दर्भ पारेर अनेरास्ववियू (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरञ्चौर, कास्कीले उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा कास्की जिल्लाका विभिन्न फुटबल क्लवहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा स्थानीय पहिचान र संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘शारीरिक र मानसिक स्वास्थ्यका लागि खेल अति आवश्यक छ। खेलले मानिसलाई उर्जा र स्फूर्ति मिल्छ। खेल क्षेत्रमा गरिने लगानीले राज्यका सबै क्षेत्रलाई स्वस्थ र गतिशील तुल्याउँछ। खेलका लागि राज्यले पनि आफ्नो लगानी बढाउन जरुरी छ।’
मन्त्री मगरले नेकपाका युवा नेता प्रकाश दाहालले वामपन्थी आन्दोलन, सामाजिक जागरण र खेलकूदका क्षेत्रमा गरेका योगदानहरुलाई स्थापित गरिने बताइन्। उनले भनिन्, ‘कमरेड प्रकाश दाहालका योगदान युवा पुस्तका लागि निकै प्रेरणादायी छन्। हामी उहाँका योगदानहरु स्थापित गर्न चाहन्छौं। समाजमा रचनात्मक कार्यहरुमार्फत् जागरण र नयाँपनको प्रत्याभूति गर्न चाहन्छौं।’
सो अवसरमा प्रकाश दाहाल फाउण्डेशनका तर्फबाट आयोजकलाई रु. एक लाख सहयोग हस्तान्तरण गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइराला, पूर्वसभासद् तेजकुमारी पौडेल, विद्यार्थी नेता क्षितिज सापकोटा लगायतले सम्बोधन गरेका थिए।




लाेकपाटी न्यूज

