राखेप सदस्य सचिवमा सिलवाल नियुक्त

ramesh-silwal pic
लाेकपाटी न्यूज

काठमाडौं, २३ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन्।
नयाँ सदस्य सचिवको रुपमा सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो।

केशव बिष्टको चार वर्षे कार्यकाल असार ९ गते सकिएपछि सरकारले सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो। सिलवालको सोमबार नै सदस्य सचिवको शपथ ग्रहण गर्ने बताइएको छ। युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नयाँ सदस्य सचिवको रुपमा सिलवाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारीसहित सदस्य सचिवको रुपमा प्रस्ताव गरेका थिए। नीजि कलेज सञ्चालकको रुपमा ख्याती कमाएका सिलवाल नीजि विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष हुन्।

नेकपा निकट खेलकुद संस्था मदन भण्डारी स्पोट्र्स फाउन्डेसनका संस्थापक अध्यक्ष उनी गोल्डेन गेट कलेजको सिइओ पनि हुन्। सिलवाल नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गर्नु अघि राखेपद्वारा गठित क्यान तदर्थ समितिका संयोजकसमेत रहेका थिए।