नेदरल्यान्ड्सका राष्ट्रिय टोलीका पूर्व स्टार रोवेनले लिए सन्यास

Robben
लाेकपाटी न्यूज

एजेन्सी। नेदरल्यान्ड्सका राष्ट्रिय टोलीका पूर्व स्टार एवं जर्मन क्लब बायर्न म्युनिखका महान खेलाडी आर्जेन रोवेनले व्यवसायिक खेल जीवनबाट पनि सन्यास लिएका छन्। रोवेनले बिहीबार राति सम्पूर्ण खेलबाट विश्राम लिने निर्णय गरेका हुन्।

३५ वर्षीय रोवेनले राष्ट्रिय टोलीबाट भने सन् २०१७ मै सन्यास लिएका थिए। उनले बायर्नलाई आठवटा बुन्डेस लिगा उपाधि जिताएका थिए। सन् २००४ मा इङ्लिस क्लब चेल्सीबाट व्यवसायिक फुटबल सुरु गरेका उनले लगातार दुई सिजन चेल्सीलाई प्रिमियर लिग र एफए कप उपाधि जिताए।

त्यसपछि उनी स्पेनिस क्लब रियल म्याड्रि«डमा पुगे। रियलबाट उनी सन् २००९ मा जर्मन पुगेका थिए। उनी आफूले खेलेका सबै क्लबलाई लिग उपाधि जिताउने खेलाडी हुन्। क्लब फुटबलमा चार सय २० खेल खेल्दै एक सय ५१ गोल गरेका उनले तीन विश्वकप र तीन युरोकप खेलिसकेका छन् ।

रोवेनकै उत्कृष्ट प्रदर्शनमा नेदरल्यान्ड्स सन् २०१० को विश्वकपको फाइनलमा पुगेको थियो। त्यतिबेला नेदरल्यान्ड्स स्पेनसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो। रोवेनले राष्ट्रिय टोलीका लागि ९६ खेल खेल्दै ३७ गोल गरेका छन्।