पोखरा, १९ असार । मनाङ्गेको पार्टी प्रवेशले गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई पुगेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। यसले नेकपालाई अझ सहज हुने उनको भनाइ थियो ।
नेकपाले दीपक मनाङेलाई नभई, प्रदेशसभा सदस्य राजीव गुरूङलाई पार्टी प्रवेश गराएको उनले बताए। सुध्रन्छु र देशको समृद्धि र विकासमा लाग्छु भन्नेहरुका लागि नेकपा खुला रहेको भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘जो कोही पनि सुध्रन चाहन्छु, देश बनाउन चाहन्छु भन्नेहरू नेकपामा आउन सक्छन्।’
अब वैकल्पिक राजनीतिक व्यवस्था खोज्दै अब अरू पार्टीमा बसिरहनु नपर्ने उनको भनाइ थियो। ‘नेकपा नै विकल्प हो। विप्लवहरूले भनेको मुख्य शत्रु को हो ’ मुख्यमन्त्री गुरुङले भने, ‘कुन्ठाको आधारमा आतंक फैलाउने काम राम्रो होइन, सबै विप्लव समूहका व्यक्तिलाई नेकपा प्रवेश गर्न अनुरोध गर्छु ।’
दीपक मनाङ्गे भनेर चिनिने गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङलाई पार्टी प्रवेश गराएका हुन्। मनाङ्गे, मनाङको प्रदेशसभा ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
बाम गठबन्धनको भागबन्डामा यो निर्वाचन क्षेत्र तत्कालीन एमालेको भागमा परेको थियो। तर, अन्तिममा आएर एमालेले उम्मेदवारी फिर्ता लिँदै मनाङ्गेलाई नै समर्थन गरेको थियो।चुनाव जितपछि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएनन्।
उनी ८ महिना जेल बसे। पछि मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै उनी जेलबाट छुटे। जेलबाट छुटेको एक महिनापछि सपथ खाएका उनी त्यसबेला नै नेकपा प्रवेश गर्ने अनुमान थियो।



लाेकपाटी न्यूज

