विश्वकप क्रिकेट : आज एक खेल हुँदै, प्रतिस्पर्धा रोमान्चक

England
लाेकपाटी न्यूज

काठमाडौं, १८ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन्।

सेमिफाइनलमा पुग्नका लागि यी दुई टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ। रिभरसाइड मैदानमा ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीबीच सेमिफाइनलमा पुग्न कडा प्रतिस्पर्धा हुनेछ। दुबै टोली सेमिफाइनलमा पुग्न संघर्षरत छन्। लिग चरणमा यी दुबै टोलीको यो अन्तिम खेल हो ।

न्युजिल्यान्डले पाँच जित र दुई खेलमा हार खेपेको छ। एक खेल वर्षाका कारण अनिर्णित बनेको थियो। ११ अंक बनाएको न्युजिल्यान्ड तालिकाको तेस्रो स्थानमा छ। घरेलु टोली इङ्ल्यान्डले पाँच जित र तीन खेलमा हार खेपेको छ। १० अंक बनाएको इङ्ल्यान्ड चौथो स्थानमा छ। सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डले विस्तारै लय गुमाएको छ। यता, इङ्ल्यान्ड सन्तुलित देखिएको छ। इङ्ल्यान्डले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

यसअघिको विश्वकपको नतिजामा न्युजिल्यान्ड केही बलियो देखिएको छ। हालसम्म यी दुई टोली आठ पटक भिडेका छन् जसमा न्युजिल्यान्डले पाँच र इङ्ल्यान्डले तीन खेल जितेका छन् । विश्वकपको पहिलो संस्करण देखि सहभागी यस यी दुई टोलीले अहिलेसम्म उपाधि चुम्न सकेका छैनन्।