प्रकाश स्मृति सेभेन ए साइड फुटबलको तयारी पूरा

Prakash Football photo
लाेकपाटी न्यूज

पोखरा, १७ असार । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्रका) पोलिटब्युरो सदस्य एवम् युवा नेता प्रकाश दाहालको स्मृतिमा ‘खुल्ला सेभेन ए साइड फुटबल’ प्रतियोगिता हुने भएको छ ।

अखिल (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस पोखरा १९ को आयोजनामा यही असार १८ गतेदेखी २१ गतेसम्म काउरेस्थित खेल मैदानमा हुने प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने क्रान्तिकारीका इकाई अध्यक्ष शिव खनालले बताए।

खनालका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ भने विजेताले उपाधि सहित नगद रु ४० हजार तथा उपविजेताले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । युवा विद्यार्थीहरुबीच खेल मार्फत आत्मियता अभिबृद्धि गर्ने र राष्ट्रका लागि आवश्यक खेलकूदको विकास गर्ने उद्धेश्यले स्व. दाहालको ३८ औँ जन्मजयन्तीको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको बताईन्छ। दाहालको वि.सं. २०७४ मङ्सिर ३ गते हृदयघातको कारणबाट राजधानीमा निधन भएको थियो ।