सागर केसी, भिनाजू
तीन दिदीहरुको बीचमा प्यारो भाइ प्रकाशको जन्म वि.सं.२०३८ असार १७ गते चितवनको भीमसेननगरमा भयो। त्यतिबेला बुवा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनताको अधिकारका लागि पञ्चायतविरुद्ध राजनीतिक सङ्घर्षमा अगाडि बढ्नुभएको थियो। बुवाको भूमिगत राजनीतिक जीवनको प्रभाव परिवारमा पनि पर्नु स्वाभाविक नै थियो। त्यसपछि बाल्यकाल भीमसेननगरबाट क्षेत्रपुर आए र बसेपछि बालकुमारी स्कुलमा अध्ययन सुरु भयो। तर, आफन्तका छोराछोरी बोर्डिङ स्कुल पढ्दा प्रकाशलाई पनि बोर्डिङ पढ्ने रहर थियो। तर, त्यो रहर पूरा हुन सकेन। उनी अनुशासित, सोझो र मायालु स्वभावका थिए। उनीसँग मेरो भेट २०४६ सालको जनआन्दोलनपछि बेलचोकस्थित उनको मामाघरमा भएको थियो।
मेरो स्मरणमा प्रकाशको बाल्यकाल राजनीतिक आन्दोलनसँगै सुरु भएको हो । पछि उनी ललितपुरको श्री शान्ति विद्याश्रम स्कुलमा दिदीहरुसँग अध्ययन गर्न थाले । उनी दिदीहरुको प्यारो भाई, परिवारको एउटा छोरा तर पनि उनी अनुशासित, सरल, इमान्दार र तिक्ष्ण बुद्धिका थिए । उनी केही नयाँ कुरा देखेपछि त्यसलाई राम्रोसँग हेर्ने जिज्ञासु स्वभावका थिए । जब मेरो विवाह उनको जेठी दिदी ज्ञानुसँग भयो, त्यसपछि अझ नजिकबाट हेर्ने र अभिभावकत्व गर्ने अवसर पाएँ । उनमा रहेको तीक्ष्ण बुद्धि र सरलता नै उनको जीवनको पूँजी थियो । साँच्चै उनमा बहुप्रतिभा थियो ।
जब जनयुद्ध सुरु भयो, तब पारिवारिक जीवन पनि आन्दोलनको आवश्यकता अनुसार भूमिगत भयो । त्यसपछि उनका चाहना, इच्छा, आकाङ्क्षा पनि आन्दोलनको स्वरुपअनुसार नै अगाडि बढ्यो । उनी १२ पास भइसकेपछि आन्दोलनको आवश्यकताले पूर्ण रुपमा बुवा प्रचण्डलाई सहयोग गर्न थाले । तर, उनको ईच्छा चाहिँ वर्ग सङ्घर्षमा जनमुक्ति सेनाको रुपमा काम गर्ने थियो । जुन सहयोग उनले त्यति बेला बुवा, पार्टी हेडक्वार्टरका लागि गरे, त्यो अहिले राष्ट्र र जनताप्रतिको ठूलो योगदान थियो । त्यसैले उनी कमरेड प्रचण्डको छोरा मात्र नभई एउटा इमान्दारी राष्ट्र सेवक पनि थिए ।
जुन समय कमरेड भई पार्टी हेडक्वार्टरमा पूर्ण जिम्मेवारीका साथ सूचना र सञ्चारदेखि सचिवालयको भूमिका पूर्ण रुपमा निर्वाह गरेका थिए। उनले व्यक्तिगत चाहना र इच्छाभन्दा पनि पार्टी आन्दोलनलाई नै आफ्नो जीवनको लक्ष्य सम्झेर काम गर्दथे। वर्ग सङ्घर्षको आँधी बेहरीमा रोल्पा होस् वा शान्ति प्रक्रिया होस्, कुनै दिन उनको सक्रियतामा कमी आएन। जतिबेला दिदी ज्ञानु क्यान्सरको बिरामी भइन्, त्यतिबेला उनले आफ्नो भूमिका पूर्ण रुपले बहन गरेका थिए।
पार्टी शान्ति प्रक्रियामा आएदेखि उनको जिम्मेवारी बढेको थियो । उनमा सधैं शान्ति प्रक्रिया कसरी सफल हुन्छ र बुवालाई कसरी सहयोग गर्ने भन्नेमै चिन्ता हुन्थ्यो । जब बुवा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो, त्यस बेलादेखि दोस्रो प्रधानमन्त्री कार्यकालसम्म आउँदा उनले आफ्नो सफल भूमिका पुष्टि पनि गरे ।
साँच्चै प्रकाशमा रहेको सरलता नै आजको युवाहरुमा हुनुपर्ने गुण हो जस्तो लाग्दछ । मानिसको जीवनमा उतारचढाव त हुन्छ नै । तर, इमान्दारिता र सरल गुण नै उनको पूँजी थियो । उनीमा अभिभावकत्वको गुण पनि पछिल्लो चरणमा बढेको थियो । दिदी ज्ञानुको निधनपछि भाञ्जीहरुको विषयमा बढी चासो राख्थे ।
‘आमापछिको मामा’ भन्ने कुरा उनको व्यवहारबाट पनि पुष्टि हुन्थ्यो । उनले पारिवारिक जिम्मेवारीलाई पनि त्यत्तिकै महत्व दिन्थे । उनी साहसी, आँटिलो पनि थिए । जब उनी सगरमाथा आरोहण गरे, त्यसपछि यस कुराको पनि पुष्टि भयो । बुवाको सचिवालयलाई व्यवस्थित बनाउने काममा उनी सफल भएको पाएँ । स्थानीय निर्वाचन साथै सङ्घीय निर्वाचनमा समेत उनको भूमिकाले अब उनी एउटा परिपक्व नेता बन्दै भएको लक्षण पनि भेटें ।
तर समयको खेल अचम्मको हुँदो रहेछ । ‘मानिसको जन्म निश्चित तर मृत्यु अनिश्चित’ भन्ने कुरा जब २०७४ मंसिर ३ गते बिहान भाञ्जी सृष्टी र दृष्टिले रुँदै मामालाई के भयो भन्दै फोन गरिन्, तब लाग्यो मान्छेको मृत्यु अनिश्चित रहेछ । त्यो समयमा हामी, गङ्गा र बुवा प्रचण्ड पूर्व थियौं । रेणु चितवनमा थिइन् । परवानाजीलाई फोन गरें मैले । ‘बाबु प्रकाश रहेनन् हामीसँग’ भन्ने खबर सुन्नेबित्तिकै हामी पूरै स्तब्ध भयौं ।
प्रकाशले मृत्युसँगै नेपाली युवाहरुको मनमा छाप छाडेर गए । हजारौं मलामी पछाडि लगाउँदै भौतिक रुपमा हामीबीच नभएपनि मन मुटुमा उनी जीवितै छन् । दाहसंस्कार बोल्दै राष्ट्रिय नेता प्रचण्डले देशका लाखौं नेपाली युवाहरुलाई आफ्नै प्रकाशको अनुहारको रुपमा पाएको र समृद्धि, विकास र नयाँ नेपाल निर्माणमा युवाहरुको भूमिका सदैव रहने बताउनुभएको थियो । देश निर्माणमा प्रकाशले खेलेको भूमिका हामीमाझ स्मरणीय नै छ । बाबु प्रकाश, हार्दिक श्रद्धाञ्जली !



लाेकपाटी न्यूज

