मर्ज हुन्छ, तर सहुलियत चाहियो : बैंकर्स संघ

pic 1
लाेकपाटी न्यूज

काठमाडौं, १७ असार । वाणिज्य बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बैंकर एशोसिएसनले मर्जरका लागि नेपाल राष्ट्र बैंकले सहुलियत दिनुपर्ने निष्कर्ष निकालेको छ।

मंगलबार बसेको एशोसिएसनको पूर्ण बैठकले मर्जरका लागि आवश्यक सहुलियत राष्ट्र बैंकसँग माग्ने निर्णय गरेको हो।
राष्ट्र बैंकको मर्जर नीतिलाई सबैले सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ। बैंकको संख्या घटाउने गरी राष्ट्र बैंकले लिएको नीति राम्रो नभए पनि सहयोग गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक बैंकरले बताए।

‘वास्तवमा बैंकको संख्या बढी भएकै हो, यसलाई कसैले नकार्न सक्दैन,’ उनले भने, ‘तर मर्जर गर्छु भनेर जबर्जस्ती गर्न पाइँदैन। राष्ट्र बैंकले हामीलाई केही सहुलियत देओस्, हामी मर्जरमा जान तयार छौं ।’त्यस्तो सहुलियत आगामी मौद्रिक नीतिले दिनुपर्ने सीईओहरुको धारणा छ।उनीहरुले मौद्रिक नीति अगाडि मर्जरको सम्भावना नकारेका छन्।
मर्जरका विषयमा आफूहरुले छलफल शुरु गरिसकेको भएपनि २७ गतेअघि मर्जको सम्भावना नभएको उनले बताए।
एक बैंकरले भने, ‘छलफल त शुरु भइसक्यो, तर मर्जर भनेको आजको भोलि हुने होइन, मौद्रिक नीति अगाडि सम्भावना छैन।’

आफूहरुले गरेको छलफलबारे राष्ट्र बैंकलाई २६ गतेभित्र जानकारी भने गराइने सीईओहरुले बताएका छन्।‘हामी यो-यो बैंक आपसमा मर्जरमा जानसक्ने सम्भावना छ भनेर जानकारी गराउँछौं, तर त्यो अन्तिम निर्णय भने हुन सक्दैन,’ उनले भनेका छन्। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गत बिहीबार बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मौद्रिक नीति अगावै मर्जरमा जान साथी खोज्न आग्रह गरेका थिए। असार २७ गते मौद्रिक नीति आउने भन्दै उनले त्योभन्दा आगवै मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरले निर्देशन दिएका थिए।