राष्ट्रिय क्रिकेट टिमको घोषणा, टिममा को–को ?

nepal-teem
लाेकपाटी न्यूज

सिंगापुरमा आयोजना हुने आइसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपालले आइतबार पत्रकार सम्मेलन गरेर कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो।

नेपालले पहिलोपटक पत्रकार सम्मेलन गरेर टिम घोषणा गरेको हो। नेपालले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ सदसीय टिमको घोषणा गरेको हो। आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन्।

नेपाली टोलीमा शरद भेषवाकरले पुनरागमन गरेका छन्। गत माघमा भएको युएईसँगको सिरिजमा शरद टिममा थिएनन्। सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन्। नेपाल पहिलो खेल कतारसंग खेल्नेछ। नेपाल र कतारबीचको खेल २३ जुलाइमा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा मलेसियासँग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्नेछन्। छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्।

ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएइमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ।