पल्सर स्पोर्टस अवार्ड मंगलबार, को–को परे छनाेटमा ?

लाेकपाटी न्यूज

काठमाडौं, १६ असार । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको १६ औं संस्करण मंगलबार काठमाडौंको प्रज्ञाभवन कमलादीमा हुने भएकाे छ । खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक र संघ संस्थालाई प्रदान गरिने यस अवार्डमा यसपटक विभिन्न नौ विधामा अवार्ड प्रदान हुनेछ ।

अवार्डको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । यस बर्षदेखि एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि पुरस्कृत गरिने मञ्चले जनाएको छ । अवार्डका लागि एसएमएस भोटिङका आधारमा चयन गरिने पिपल्स च्वाइस विधाको मनोनयनमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन परेका छन् ।

बर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाईडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ परेका छन् । बर्षको उत्कृष्ट महिला खेलाडीको अवार्डका लागि फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ मनोनयनमा छन् ।

यसैगरी बर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ रहेका छन् ।

प्रशिक्षकमा प्याराग्लाईडिङका योगश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र बिष्ट, फुटबलका हरी खड्का मनोनयनमा छन् । यसैगरी लाइफ टाइम अचिभमेन्ट, पारा एथलिट, स्पेसल र टिम अफ दी इयर अवार्ड पनि मंगलबारनै प्रदान हुनेछ ।

बर्षको उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाईस अवार्डको विजेताले बजाज पल्सर मोटर साईकल पुरस्कार प्राप्त गर्नेछन् । महिला र पुरुष विजेताले टर्किस एयरलाइन्सको तर्फबाट खुला गन्तब्यको दुईतर्फी हवाई टिकट पनि पाउनेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्नेछन् ।