कंचनपुर, ११ असार । खानेपानी मन्त्री बिना मगरले नेपाली युवा खेलाडीहरुको सही ढंगले संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छिन्।
कंचनपुरको महेन्द्रनगरमा महाकाली स्पोट्र्स सोसाइटीले आयोजना गरेको प्रधानमन्त्री महिला कप टी २० क्रिकेट प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले खेलाडीहरुको संरक्षण र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने बताएकी हुन्।
खेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने भएकाले खेलाडीहरुको संरक्षण गर्नु जरुरी छ, खेल भनेको केबल मनोरञ्जनका लागि मात्रै होइन यसले युवाहरुमा आत्मविश्वास समेत जगाउछ, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, सक्षम र अनुशासित युवा जन्माउन खेलकुद क्षेत्रको विकास गर्नु अति आवश्यक छ।
सुदुरपश्चिम क्षेत्रमा यसरी राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुनु आफैंमा महत्त्वपूर्ण उपलब्धि रहेको भन्दै यस किसिमको प्रतियोगिता निरन्तर हुनुपर्ने मन्त्री मगरले बताइन्। सुदुरपश्चिम क्षेत्रमा खेलकुदको विकासको लागि आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।
सुदुरपश्चिम सरकारका उद्योग, वन तथा वातावरण, पर्यटन राज्य मन्त्री प्रकाश रावलले सुदुर पश्चिम क्षेत्रमा खेलकुदको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन गुरुयोजना तयार भैरहेको जानकारी दिए।असार ४ गतेदेखि सुरु भएको महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल सशस्त्र प्रहरी टीम र सुदुरपश्चिम क्लब बीच भएको थियो।
प्रतियोगितामा सशस्त्र प्रहरी टीमले सुदुर पश्चिम टीमलाई ६ विकेटले पराजित गरेको थियो। सुदुर पश्चिम टीमले २० ओभरमा ७१ रनमात्र बनाएको थियो। मन्त्री मगरले विजयी टीमलाई प्रमाणपत्र र पुरस्कार वितरण गरेकी थिइन्।



लाेकपाटी न्यूज

