काठमाडौं, ११ असार । नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। फ्रान्सको रिन ठाँउमा भएको प्रक्वार्टरफाइनलमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्याण्ड्सले जापानलाई २-१ ले हरायो।
खेलको १७ औँ मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएकी थिइन्। ४३औं मिनेटमा युयी हासेगावाले गोल गर्दै जापानलाई खेलमा फर्काइन्। पहिलो हाफ एक-एकको बराबरीमा रोकिए पनि दोस्रो हाफको अन्तिम समयमा डच टोलीले पेनाल्टी पायो।
पेनाल्टीलाई पनि मार्टिन्सले नै गोलमा परिणत गरेपछि नेदरल्याण्ड्स अन्तिम आठमा पुग्न सफल भयो।क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले इटालीको सामना गर्नेछ। इटालीले चीनलाई २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।
इटालीसँग पराजित भएपछि चीन फिफा महिला विश्वकपको प्रि क्वाटरफाइनल चरणबाट बाहिरिएको छ। चीनले इटलीसँग २-० गोलको पराजय ब्यहोरेको हो। क्वार्टरफाइनलमा इटालीले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। खेलको १५ औं मिनेटमा भ्यालेन्टिना जियासिन्टीले गोल गरी इटलीलाई अग्रता दिलाएकी थिइन्।
पहिलो हाफमा एक गोल गरेको इटलीले दोस्रो हाफको सुरुमै अर्को गोल गरेको हो। आउरोरा गाल्लीले आलिया गुआग्नीको पासमा गोल गरेकी हुन्। त्यसपछि गोल हुन सकेन र इटाली अन्तिम आठमा पुग्यो।



लाेकपाटी न्यूज

