नयाँ रेकर्ड कायमै : किन बढिरहेछ सुनकाे मूल्य, यस्ताे छ कारण

Gold01
लाेकपाटी न्यूज

काठमाडौं, ८ असार । केही समयदेखि सुनको मूल्यमा लगातार वृद्धि भइरहेकाे छ । आज सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । यो मूल्य नेपाली बजारको हालसम्मकै उच्च हो । विश्व अर्थतन्त्रमा अहिले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको लगातारकाे सुनकाे मूल्य वृद्धिले बताउँछ ।

सरकारले बजेटमार्फत सुन आयातमा भन्सार महसुल बढाएपछि सुन लगातार बढ्न थालेको हो । अहिले नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

इरान र अमेरिकाको राजनीतिक युद्ध, अमेरिका र चीनको व्यापारिक युद्ध तथा भारत र अमेरिकाको व्यापारिक युद्धजस्ता कारणले सुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।  व्यवसायीहरू अझै सुनको मूल्य बढ्न सक्ने बताउँछन् । तत्काल ठूला देशहरूको युद्ध मत्थर हुने सङ्केत नदेखिएको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बताएका छन् ।

खासगरी नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्छ र सुनको किनबेच डलरमा हुन्छ । तर अमेरिका पटक पटक कुनै न कुनै देशसँगको विवादमा फस्ने गरेको छ । यसले गर्दा ग्लोबल लगानीकर्ताहरूले गर्ने डलरको लगानी सुनतर्फ लगाउने गरेका बताइन्छ ।

तर पछिल्लो मूल्य भने नेपाल आउँदा दुई गुणा बढ्नुमा सरकारले बजेटमार्फत सुनको आयात गर्दा बढाएको भन्सार महसुल वृद्धि पनि हो । सरकारले बजेटमा सुनमा प्रतितोला एक हजारको दरले भन्सार महसुल वृद्धि गरेको छ ।

शक्ति राष्ट्रहरूबीचको द्वन्द्वका कारण सुनको भाउ तलमाथि हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा स्वतः बढ्छ । उनीहरूकै दरमा नेपालमा सुन आउँछ । नेपालभित्र आइपुग्दा दोब्बर हुन पुग्छ । यसको कारण भनेको भन्सार दर नै हो ।

सुनको मूल्य ठूला देशहरूको युद्ध के हुन्छ, त्यसमा भर पर्ने भएको बताउँदै शाक्यले अझै यो द्वन्द्व मत्थर हुने नदेखिएकाले अझै केही दिन सुन पुरानो मूल्यमा फर्कन नसक्ने जनाए । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले प्रत्येक दिन अन्तर्राष्ट्रिय मूल्यको आधारमा नेपालमा सुनको मूल्य तोक्ने गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्