कोपा अमेरिका फुटबल : चिली शीर्ष स्थानमा उक्लियो

chile
लाेकपाटी न्यूज

काठमाडौं, ७ असार । कोपा अमेरिका फुटबलमा समूह सीमा रहेको चिलीले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।

खेलको ८ औँ मिनेटमा जोसे पेड्रोले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए। सुरुदेखिनै आक्रामक खेलेको चिलीले २६ औँ मिनेटमा बराबरी गोल खान पुग्यो। चिलीका खेलाडीले गल्ती गरेपछि पाएको पेनाल्टी मार्फत इक्वेडरका इरन रेमबर्टोले बराबरी गोल गरेका हुन्।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा निर्णायक गोल चिलीले दोस्रो हाफमा गरेको थियो। ५१ औँ मिनेटमा एलेक्स साञ्चेजले गोल गरेपछि चिली २–१ ले अघि बढेको थियो। त्यो अग्रतालाई चिलीले अन्तिम समयसम्म जोगाउँदै लागतार दोस्रो जित हात पार्न सफल भएको हो।

इक्वेडर अन्तिम समयमा भने १० खेलाडीमा सीमित भएको थियो। उसका ग्रावियल एचियर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। यो समूहमा उरुग्वे दोस्रो स्थानमा छ भने जापान तेस्रो स्थानमा रहेको छ।