काठमाडौं, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधार भएको बताएका छन्।
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा आजदेखि शुरु छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा हरेक किसिमका खेलका लागि अनुकुल वातावरण रहेकाले राज्यले खेलको विकासका लागि प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
खेलाडीलाई उत्प्रेरित गर्न र यसबाट पनि सम्मानित जीवन जीउन सकिन्छ भन्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै उनले आफूले खेलका साथै संस्कृति र कलालाई पनि उच्च प्राथमिकतामा राख्दै आएको बताए।
उनले पोखरा नेपालको प्रमूख पर्यटकीय गन्तव्य भएको चर्चा गर्दै त्यहाँको विकासले समग्र राष्ट्रको विकासमा टेवा पु¥याउने बताए। पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न हुने आशा पलाएको बताउँलदै फेवाताल संरक्षणका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
पोखराको रत्न मन्दिर र हिमा गृहलाई सर्वसाधारणका लागि खुला गर्न पर्यटन व्यवसायीले ध्यानाकर्षण गराएकाले यसका लागि सरकार एवं सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइने उनको भनाइ छ । पोखरामा बढ्दो सवारी चापको अवस्थासँगै चक्रपथ निर्माणको विषय अघि आएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसका लागि प्रक्रिया अघि बढाउन पनि आफ्नातर्फबाट पहल गर्ने बताए।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको पर्यटकीय विकासमा खेल पर्यटनको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै फेवाताल किनारमा हुन लागेको बिच भलिबलले त्यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले प्रतियोगितामा १४ महिला तथा १७ पुरुष समूह सहभागी हुने जानकारी दिए ।
उक्त प्रतियोगिताबाट आगामी मङ्सिरमा हुने दक्षिण एशियाली बिच भलिबल प्रतियोगिताका लागि खेलाडी छनोट गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, द्धितीयले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कारसहित पदक तथा प्रमाणपत्र पाउने छन् ।



लाेकपाटी न्यूज

