एजेन्सी । चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने १ सय २२ जना घाइते भएका छन्।
चीनको भूकम्प मापन केन्द्र (सीईएनसी) को अनुसार स्थानीय समय अनुसार सोमबार राति १०ः५५ बजे पहिलो पटक ६ रेक्टर स्केलको भूकम्प गएको थियो भने उक्त भूकम्पको पराकम्प मंगलबार बिहान ५.३ रेक्टर स्केलको गएको थियो। समाचार एजेन्सीमा उल्लेख भएअनुसार चान्गिन्ग काउन्टीमा दुई व्यक्ति अझै फसिरहेका छन्। जसमध्ये एक जनाको अवस्था गम्भीर भएको उद्धारकर्ताले जनाएका छन्।
यसैगरी, शौन्गी शहरमा चार घाइतेलाई अस्पताल पठाइएको छ। प्रान्तीय राजधानी चन्गदूमा भूकम्प चेतावनी प्रणालीले भूकम्प आउनुभन्दा एक मिनेट पहिले सर्तक गराएको थियो। यसलगत्तै भूकम्पको झट्का महसुस गरिएको थियो। चीनको आपतकालीन प्रबन्धन मन्त्रालयले तुरुन्तै राहत वितरण कार्य शुरु गरिसकेको छ। प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु पठाइएको छ।
स्टेट मिडियाको अनुसार राष्ट्रिय खाद्य मन्त्रालयले पाँच हजार टेन्ट, १० हजार फोल्डिङ बेड र २० हजार ब्ल्याङ्केट प्रभावित क्षेत्रमा पठाइएको छ।



लाेकपाटी न्यूज

