आईसीसी विश्वकप : श्रीलंका पराजित

australia-cricket pic
लाेकपाटी न्यूज

काठमाडौं, १ असार। आईसीसी विश्वकपमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले चौथो जित हात पारेको छ। शनिबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले हरायो।

ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सात विकेट अष्ट्रेलियाले ५० ओभरमा गुमाउदै ३३४ रन बनायो।
बलियो सुरुवात गरेको अष्ट्रेलियाका लागि आरोन फिन्चले १५३ रनको शतकीय योगदान दिए। उनले १३२ बलमा १५ चौका र ५ छक्का प्रहार गरेका थिए। त्यस्तै स्टिभ स्मिथले ७३ रनको योगदान दिए।

उनले ५९ बलमा ७३ रन बनाएका थिए। स्मिथले बललाई सात चौका र एक छक्का कटाए। यस्तै ग्लेन म्याक्सवेलले २५ बलमा आक्रामक ४६ रन बनाए। बलिङतर्फ इशुरु उडाना र धनञ्जय डि शिल्भाले २–२ विकेट लिएका थिए। मालिङ्गाले पनि एक विकेट लिए। ३३५ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.५ ओभरमा २४७ रन बनाउँदा अलआउट भयो।अष्ट्रेलियाका मिचेल स्टार्कले चार र केन रिचार्डसनले तीन विकेट लिँदा श्रीलंका पराजित हुन पुग्यो। प्याट कमिन्सले दुई विकेट लिएका थिए।

ब्याटिङतर्फ दिमुथ करुणारत्नेले ९७ रन बनाएका थिए। १०८ बलमा नौ चौका प्रहार गरेका करुणारत्ने शतक बनाउन तीन रनले चुके। उनीसँग कुशल परेराले पहिलो विकेटका लागि ११५ रनको बलियो साझेदारी गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। परेराले पनि ५२ रनको योगदान दिएका थिए। त्यसपछिका ब्याट्सम्यान सस्तैमा आउट भए। एन्जेलो म्याथ्युजले ३०, लहिरु थिरिमाने र धनन्जया डि सिल्भाले १६–१६ रन बनाएका थिए। जितसँगै अष्ट्रेलिया पाँच खेलबाट ८ अंक बनाउँदै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। श्रीलंकाले भने पाँच खेलबाट ४ अंक बनाएको छ।