पोर्टो, २३ जेठ। क्रिस्टियानो रोनाल्डोले सनसनीपूर्ण ह्याट्रिक गरेपछि पोर्चुगल यूएफा नेशन्स लिगको फाइनलमा पूगेको छ। रोनाल्डोको उत्कृष्ट ह्याट्रिकको मदतले पोर्चुगलले बुधबार राति नेशन्स लिगको सेमिफाइनलमा स्विट्जरल्याण्डलाई ३९१ ले हराएर नेसन्स लिगको फाइनल पुगेको हो।
रोनाल्डोले २५, ८९ र ९०औं मिनेटमा गोल गरेपछि स्विट्जरल्याण्ड ३–१ गोलअन्तरले पराजित भएको थियो।स्विट्जरल्याण्डका लागि ५७ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल रिकार्डो रोड्रिगेजले फर्काएका थिए। दोस्रो हाफमा नेल्शन सिमिडोले स्टिभिन जुबरलाई फल गरेपनि भिडियो एसिस्टेन्ट रेफ्रिको मद्दतमा स्विट्रल्याण्डले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा गोल गर्दै रिकार्डोले खेल बराबरीमा ल्याएका थिए। तर, खेलको अन्तिम दुई मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक गरे।
रोनाल्डोको करिअरको यो ५३औं ह्याट्रिक हो। पोर्चुगलका लागि ७ वटा ह्याट्रिक गरेका उनले बाँकी ह्याट्रिक क्लबका लागि गरेका हुन्। पोर्चुगलले अब आइतबार हुने फाइनलमा इंग्ल्याण्ड र नेदरल्याण्ड्सको विजेतासँग खेल्नेछ।



लाेकपाटी न्यूज

