छुट्टाछुट्टै दुर्घटनामा ९ को मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, २१ जेठ। करिव १७ घण्टाको अवधिमा भएका ७ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो १२ बजेदेखि मंगलबार बिहान ५ बजेसम्मको सो अवधिमा रसुवा, गुल्मी, कञ्चनपुर, काभ्रे, अछाम र संखुवासभामा भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको हो।

दुर्घटनामध्ये रसुवा कालिका गाउँपालिका ४ स्थित सडकमा बा.१० च ५८२० नम्बरको जिप सडकबाट करिब सय मिटर तल त्रिशुली नदीमा खस्दा गम्भीर घाइते भएका आमाछोदिङ्मो गाउँपालिका ४ का ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षीया साहिली घले र ३५ वर्षीया मेन्दु घलेको जिल्ला अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका चालक समेत अन्य ५ जनालाई थप उपचारको लागि ग्रिन सीटी अस्पताल धापासी काठमाडौं रिफर गरिएको छ । दुर्घटनामा बेपत्ता भएका आमाछोदिङ्मो गाउँपालिका४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङजेन तामाङ र २० वर्षीया त्लेतङ घले समेत ३ जनाको प्रहरीले खोजी गरिरहेको छ । उक्त जिप पोखराबाट गोल्जुङ रसुवातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको थियो।

यस्तै गुल्मी रेसुङगा नगरपालिका ७ स्थित सडकमा लु.१ त ३३९३ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खस्दा सहचालक मदाने गाउँपालिका ६ बस्ने २१ वर्षीय मधु नेपालीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते अन्य २ जनाको रेसुङ्गा अस्पतालमा उपचार भइरहेको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै कञ्चनपुर भिमदत्त नगरपालिका ६ स्थित सडकमा लु.१ त ८८१ नम्बरको ट्याक्टर र लु.१ स २८९९ नम्बरको अटो एकआपसमा ठक्कर खाँदा अटोमा सवार सोहि नगरपालिका २ का २८ वर्षीय भुवन पाण्डेको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी मृतक पाण्डेको ८ वर्षीया छोरी किन्जल पाण्डेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै काभ्रे रोशी गाउँपालिका ६ स्थित सडकमा बा.४ ख ५२३७ नम्बरको मिनि ट्रक र बा.९५ प ७६८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार सुनसरी गढी गाउँपालिका २ का १८ वर्षीय अमिन साफीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय नजिर साफीको मेथिनकोट अस्पताल भकुण्डेबेशीमा उपचार भइरहेको छ। दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै अछाम मेल्लेख गाउँपालिका ६ स्थित सडकमा से.२ त १२१६ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोहि स्थान बस्ने डम्मर बोहराको ४ वर्षीय छोरा सुशील बोहराको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै संखुवासभा धर्मदेवी नगरपालिका ३ स्थित सडकमा रोकी राखेको ना.३ ख २१३२ नम्बरको ट्रकबाट लडेर बेहोश भएका सहचालक झापा शिवसताक्षी नगरपालिका १० का ५० वर्षीय सार्की बहादुर योङहाङ लिम्बुको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्