काठमाडौं, १९ जेठ। नेपालका लेग स्पिनर सन्दीप लामिछानेसहित ५ नेपाली खेलाडी ‘पिपुल्स च्वाइस अर्वाड’का लागि मनोनित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजीएफ)ले आयोजना गर्ने पल्सर स्पोट्स अवाडका लागि ५ जना खेलाडी मनोनयनमा परेका हुन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक गरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने, राष्ट्रिय महिला फुटबल टोलीकि स्टाइकर सावित्रा भण्डारी, भलिबल टोलीकी खेलाडी रेश्मी भण्डारी, शारीरिक सुगठनका महेश्वर महर्जन र व्याटमिन्टनका प्रिन्स दाहाल मनोनित भएका हुन्।
खेलाडीहरुले पछिल्लो एक वर्ष देखाएको प्रदर्शन र उनीहरुको प्रदर्शनले राष्ट्रिय टिमको सफलता वा नेपाल देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको हुँदा खेलाडीलाई पिपुल्स च्वाइस अर्वाडका लागि छनोट गरिएको हो।मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट एसएमएस भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ । एसएमएस भोटिङ र फेसबुक लाईको मतभार ५० प्रतिशत रहनेछ भने पत्रकारको भोट र संघका मुख्य प्रशिक्षकको मतको भार २५–२५ प्रतिशत रहनेछ।
खेलाडीलाई भोट गर्न नेपाल टेलिकम, एनसेल र स्माट कार्डका प्रयोगकर्ताले ३७७२२ नम्बरमा म्यासेज गर्न सक्नेछन्। म्यासेज बक्समा गएर पल्सर टाईप गरेर एक स्पेस दिएर खेलाडीको कोड र नाम टाईप गरेर ३७७२२ मा पठाउन सकिनेछ।



लाेकपाटी न्यूज

