काठमाडौं, १९ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य पदम राई ‘विकास’ले हिजो प्रचण्डको कमाण्डमा दश वर्षे द्वन्द्व लडेर आएको बताउँदै अब फेरि त्यही द्वन्द्वको बाटोमा हिँड्नु गलत भएको प्रष्ट्याएका छन्।
आज आयोजित पार्टी प्रवेश कार्यक्रमकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्दै उनले भने, ‘हिजो हामी अध्यक्ष प्रचण्डको कमाण्डमा लड्याैं, १७ हजार मान्छेले ज्यान गुमाए, जो अब छैनन्, चाहेर पनि आउँदैनन् । फेरि त्यस्तै बाटोमा अघि बढेर कहाँ पुग्ने ?’
उनले थपे ‘पछिल्लो समय देश केही बिग्रिएकै कारण म नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा थिएँ।’ सरकारले वार्ता टोली गठन गरेपछि वार्ता गर्नुपर्छ भन्ने पक्षमा आफू उभिँदा पार्टीले आफूलाई पार्टी विरोधी काम गरेको आरोप लगाएको उनले बताए। ‘दुई शक्तिबीच टकराब चल्दै जाँदा कुनै एक शक्तिको विजय त होला। तर, देश र जनताले के पाउने भन्नेमा म पुगेँ । सधैं द्वन्द्वको बाटोमा हिँडेर मात्र केही नहुने रहेछ, राष्ट्र र जनताले क्षति बेहोर्नु बाहेक’, उनले भने।
सरकारले पार्टीलाई प्रतिबन्ध गरे पनि वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने उनको धारणा छ। उनले भने, ‘वार्ताका माध्यमबाट समस्या समाधान हुन्छ भने देशलाई फेरि किन द्वन्द्वमा लैजाने भन्ने मेरो कुरा थियो। द्वन्द्वको बाटो हिँड्नुभन्दा एक पटक टेवलमा जाऊँ भन्ने मेरो कुरा थियो। वार्ता गर्दा देश र जनताका लागि फाइदा हुन्छ भने वार्ता गरौं मैलेले भनेको थिएँ।



लाेकपाटी न्यूज

