काठमाडौं, १४ जेठ। फरवार्ड नेइमारलाई राष्ट्रिय फुटबल टिमको कप्तानबाट आउट भएका छन्। ब्रजिलले नेइमारलाई राष्ट्रिय फुटबल टिमको कप्तानबाट हटाएको हो।
ब्रजिलले आगामी महिना हुने कोपा अमेरिका फुटबल प्रतियोगितामा अब डिफेन्डर ड्यानी अल्भेसले ब्रजिलको कप्तानी गर्नेछन्। २७ वर्षीय फरवार्ड नेइमारलाई ८ महिनाअघि कप्तानको जिम्मेवारी दिइएको थियो। तर अनुसासनका कारण उनलाई कप्तानबाट हटाइएको प्रशिक्षक टिटेले बताएका छन्।
३६ वर्षीय अल्भेसले कोपा अमेरिकाअघि कतार र होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा पनि ब्रजिलको कप्तानीमा गर्नेछन्। आगामी १४ जुनदेखि ७ जुलाई सम्म हुने कोपा अमेरिका २०१९ फुटबल प्रतियोगिताका लागि ब्राजिलले राष्ट्रिय टिम घोषणा भइसकेको छ। कोपा अमेरिकामा यसपटक १२ टिमबीच प्रतिस्पर्धा हुँदैछ। एसियाका जापान र कतारलाई आमन्त्रित टिमको रुपमा कोपा अमेरिकामा स्थान दिइएको छ। यी बाहेक १० वटा दक्षिण अमेरिकी टिमबीच प्रतिस्पर्धा हुँदैछ।
समूह ‘ए’मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु छन्। समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार छन्। यसैगरी समूह सी मा उरुग्वे, इक्वेइडर, जापान र चिली छन्। तीन समूहमा शीर्ष २ र उत्कृष्ट तेस्रो हुने २ टिम क्वार्टरफाइनलमा पुग्नेछन्।
४६ औं संस्करणको कोपा अमेरिकाको उद्घाटन खेल १४ जुनमा आयोजक ब्राजिल र बोलिभियाबीच प्रतिस्पर्धा हुनेछ। यसअघि सन् २०१६ मा भएको पछिल्लो संस्करणको विजेता चिली हो। चिलीले फाइनलमा अर्जेन्टिनालाई हराएर लगातार दोस्रो पटक उपाधि जितेको थियो।



लाेकपाटी न्यूज

