काठमाडौं, १४ जेठ। सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ।
पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको हो। मन्त्रालयको प्रस्तावअनुसार लोकसेवाले आगामी १५ जेठदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी गरेको छ।लोकसेवाले कर्मचारी आवेदनको कार्यतालिका नै सार्वजनिक गरिसकेको छ।
नवौँ तहका अप्राविधिक–प्राविधिक पदको खुला प्रतिस्पर्धाको परीक्षा भदौमा लिने र असोजमा नतिजा प्रकाशित हुने लोकसेवाले जनाएको छ। अन्तर्वार्ता र सिफारिस भने कात्तिकमा हुनेछ। त्यस्तै, छैटौँ तहका अप्राविधिक पदको पदपूर्ति दुई चरणमा हुने कार्यतालिका छ। पहिलो चरणको परीक्षा साउनमा लिएर सोही महिना नतिजा सार्वजनिक गर्नेछ।
दोस्रो चरणको परीक्षा भने भदौ–असोजमा लिई असोज–कात्तिकमा नतिजा आउनेछ। दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा हुनेछ। छैटौँ तहकै प्राविधिक पदको परीक्षा पनि दुई चरणमा गर्ने कार्यतालिका छ। पहिलो चरणको परीक्षा र नतिजा साउनमै हुनेछ भने दोस्रो चरणको परीक्षा भदौ–असोजमा भएर नतिजा कात्तिकमा प्रकाशित हुनेछ।दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा गर्ने लोकसेवाको तयारी छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।



लाेकपाटी न्यूज

