‘देश बिगार्ने जनप्रतिनिधि कि कर्मचारी ?’

leader and imployes
लाेकपाटी न्यूज

जनप्रतिनिधि आफैमा गौरव र हर्षले भरिभराउ शब्द हो। सामाजिक मूल्य मान्यता बोकेको यो सिङ्गो शब्द जन र प्रतिनिधि दुई शब्दको समासबाट जन्मेको हो। समान्य अर्थमा मानिसको मतबाट चुनिएको एक योग्य र भरपर्दो व्यक्ति भन्ने बुझिन्छ। कुनै पनि कुराको उत्पत्ति भइसकेपछि त्यसलाई स्थायित्व दिन अर्थात् जीवित राखी राख्न पालनपोषण र त्यसप्रतिको सम्मानमा भरपर्ने गर्छ।

एक सपनाको संसार देख्ने आशमा आफ्नो ड्रिमल्याण्डको बीउ (भोट) दिएर चुनेको व्यक्ति एक सक्षम र आशावादी निष्कर्ष हो जनताको जनप्रतिनिधि। यसरी जनमत पाई चुनिएको बीउ छर्ने कुशल (निपूण मानिएको) कृषकले आफ्नो स्वार्थभन्दा माथि रही ती बीउदाताको सपनाको बिरुवा उम्राउन सक्नु नै जनप्रतिनिधि शब्दको बृहत्तम् सम्मान हो। यति सबै गर्न त सर्वप्रथम आत्मसम्मान हुनु आवश्यक छ। आत्मसम्मान नै छैन भने कसैले पत्याउँदैन। तर, आज आएर यस्तो कुशल कृषक मैले नभेट्टाएको हो, या हुँदै नभएको हो ? मेरो मनमा अनेकौ प्रश्न उठ्न थालेका छन्।

जनप्रतिनिधि केको र कसका लागि ? यो दुई शब्दको प्रश्नभित्र अनगिन्ती प्रश्नहरु छन्। जनताको सेवा गर्न, जनताको सपना साकर पार्न, जनताको समस्या पार लगाउन, शिक्षा, स्वास्थ्यदेखि लिएर विभिन्न आधारभूत आवश्यकताहरु सजिलैसँग जनताको पहुँचमा ल्याउन। यस्तै थुप्रै अनेकौँ यो पानामा अटाउन नसकेका त्यो घोषणपत्रमा भएका निल्न नसकिने घाँटीमा अड्केका आशाहरु। हजारौं बलिदानी अमर सहिदहरुको सपना बोकेका यी सबै कुरा पूरा गर्छु भनी अन्तिम सास फेरिरहेका ती आमाबुवालाई आशाको सास फेर्न झुटो आश्वासन दिने तपाईं जनप्रतिनिधि हो कि कर्मचारी, को हो ? स्पस्ट हुनुस् कि देशमा एक मात्र ठग्ने पेशा छ राजनीति।

कर्मचारीले त आफ्नो परिवार र साहुबाहेक कसैलाई ठग्दैन, त्यो पनि बाध्यताले। एउटा खरिदारले परिवारको दश हजार खर्च ब्यहोर्न साहुलाई दुई महिना ठग्नुपर्छ। जनप्रतिनिधिले त धेरैजसो जनतालाई ठगेर जित्यौ। ठग्न नसकेकालाई हात्ती, बाघमा चढाएर बाटो डोर्‍यायौ।। साहुभाकाहरुले ऋण कट्टा गरेर जित्यौ। पावर, पहुँच भाकाहरुले अँध्यारो बाटोमा टर्च देखाई लोभ्यायौ। केही नभएकाहरुले पुख्र्यौली सम्पत्ति बेची लगानी गरेर जित्यौ। त्यसैले त आज यो सबै सम्पत्ति कमाउन आएका हुन् कि जनप्रतिनिधि जस्तो लाग्छ। हो, पनि यसमा कुनै दुईमत नै छैन। संघीय गणतन्त्र त एक शाखा बिस्तारित विशाल कम्पनी रहेछ, जसमा शेयर संख्या खोलेर लगानीकर्तालाई लगानी गर्न लगाउने र शाखा चलाई मुनाफा कमाउने भयङ्कर विचार रहेछ।

वि.सं. २०७२ सालको बिनाशकारी भूकम्पपछिको कुरा हो चुनाव त। आजका नक्कली भूकम्पपीडित हिजोको तपाईंहरुकै पावरले बनेका हुन्। वास्तविक पीडित छुट्नु र बाँझो घर अनि गोठ देखाई भूकम्प पीडित हुनु सबै तपाईंहरुकै कमाल हो। त्यतिमात्र कहाँ हो र आजसम्म ३–३ पटक पुनःसर्बे हुनुको श्रेय पनि तपाईं महोदयहरुलाई नै जान्छ। पूर्व र पश्चिमका कम पनि होइन, अति कम प्रभावित जिल्ला भनेर १७ जिल्ला २०७४ सालमा आएर थपिएका हुन्, जसमा ६०५ घरहरु ‘ग्रेड–ए’मा पर्छन् र बाँकी ३०५ मा पनि वास्तविक पीडित २०५ होलान्। यी सबै चुनाब जित्ने दाउमा ठगेर बनाएका रेडिमेट पीडित हुन्।

आज यिनै पीडितको सेवा गर्न त कता हो कता सेवा गर्न आएको टोलिलाई सहायता गर्नु हुन्न। झन उल्टै बसीबसी सरकारको तलब खनुहुन्छ भन्ने रे। हो, ठीक बुझ्नु भएछ। कार्यालयमै बसी बसी खान मिल्छ भनेर त पद र कुर्सी बनेका हुन्, कार्यालय सहयोगीदेखि सचिवसम्मका कर्मचारीका लागि त्यसैले त पच्चीस वर्षसम्म अध्ययन गर्नुपर्छ। तपाईंहरु जसरी जनतालाई ठगेर खान त आठ पास पनि हुनु पर्दैन। ठग्ने सीप भए पुग्छ। त्यसैले मैले भन्दै आइरहएको छु, बुद्धि नभएका निकम्मा, अयोग्य, असक्षम, अशिक्षित, विकासको नाममा ‘बि’ नजान्ने, सद्बुद्धी हराएका, इमान ईज्ज्यत बेचिएका केही पक्कै छन्। उहाँहरूले एक योग्य, विद्धान, सरिफ, इमान्दार, स्वच्छ, पारदर्शी, स्पष्ट, बफादार, कुशल, निपूण, बौद्धिक कर्मचारीसँग तुलना गर्न कतिसम्म नाजायज होला ? सोच्न पनि लाज मान्नुपर्ने हो।

जब कि कर्मचारीको र जनप्रतिनिधिको काम कर्तव्य वाई दिशामा हुन्छन्। जनप्रतिनिधि त आफ्नो मर्यादा बिर्सेका छन्। एउटा जनप्रतिनिधिले अधिकृत स्तर अथवा कुनै पनि तहको कर्मचारीसँग औंला ठड्याएर आदेश दिने अधिकार यहीँ गणतान्त्रिक सरकारले ल्याएको हो। यो त बिथिति हो, जसले जे पनि गर्न पाउने। अहिलेका उच्चस्तरमा रहेका जनप्रतिनिधिको मान मर्यादा कर्मचारीको भन्दा अलिकति माथि राख्न खोजेको तर बादशाह बन्न खोज्नु त सरासर दादागिरी हो। जनसेवा छोडेर भ्रष्टाचारतिर मौलाएका छन्।

योजनाका कार्यक्रमबाहेक अन्य कुनै जनसेवा, जनहितका कार्यक्रममा भूमिका र तत्परता देखाउँदैनन्। अरुचि देखाउँछन्। किन ? नन–प्रोफिट बिजनेशजस्तै मानेर त होला नि। पैसा आउँदैन। यस्तै एउटा जल्दोबल्दो उदाहरण हो भूकम्प पीडितको कथा। जसले जनप्रतिनिधिबाट कुनै पनि किसिमको सहयोग पाइरहेका छैनन्। अरु त परै जाओस्, पुनर्निर्माणमा खटेर सहयोग गरिरहेका प्राविधिक कर्मचारीलाई असहयोग गरिरहेका छन्। गुणस्तरहीन काम गरी प्रतिशतका कुरा गर्ने मात्र झुकाव छ।

मिलाउला, ब्यवहारिक कुरा बुझ्दिनुपर्छ। तपाईंको समस्या मैले हेर्छु। तपाईंलाई भेट्नु छ, जस्ता तुच्छ शब्दहरु सुन्दा पाप नै गरेजस्तो महशुस हुन्छ। यस्तो भाषा त त्यो भ्रष्ट कर्मचारीले मात्र सुन्छ, जसले पैसाभन्दा ठूलो अरु केही पनि देखेको हुँदैन। उपभोक्त समितिलाई आफैले सिफारिस गरेर डिलरबाट सामग्री किन्न लाउँछन्, नत्र पास हुँदैन भनेर डर देखाई चारै ठाउँबाट गोजी मोटो पार्ने खेलमा मात्र सरिक भएको पाइन्छ। जता पैसा त्यतैतिर हात फैलाउँछन्।

पानी पिउनु छोडे प्रतिनिधिहरुले पनि। सवारी साधन नै छैन पेट्रोल। भान्सामा आगो सल्काउन हो कि बेच्न ? न कि दिनरात नभनी जनताको काममा कतै हिंडेका छौ। देशमा भ्रष्टाचार दुई गुणा बढे जस्तो छ। हुने बाटोको जबर्जस्त निषेध र नहुने बाटोको अन्धाधुन्ध यात्राले यहाँ भ्रष्टाचारको निषेध होइन कि निषेध गर्ने बाटोकै पो निषेध भइरहेको छ।
जनप्रतिनिधिले त एक एक घर, गाउँ, समाज पुगेर प्रत्यक्ष समस्या बुझी त्यहीअनुसारको कार्यक्रम तर्जुमा गर्ने, जन उत्थान गर्ने, गाउँ समाज उकास्ने, विकासको स्तर बढाउने कि राज्यकोषको दुरुपयोग गरि बिलासिताका वस्तु उपयोग गर्ने ? जनप्रतिनिधिहरु त नमस्ते पाउनकै लागि सत्ता र कुर्सीमा बसेका हुन् भने यहाँ कसले बुझ्छ ?

अँध्यारो कोठामा रोइरहेका एकल आमा बुवाको पीडा। यो नुन पग्लिने गर्मीमा सयौं दिन अगाडि घैँटामा जमेको पानी तताएर पिउँदाको बाध्यता। ती आमा बुवाको पीडा, जसको अस्तित्व एउटा ब्याट्रीमा निर्भर छ। त्यो छोराको पीडा, जसले आफ्नो वृद्ध आमाबुबा र सन्तानकी आमाको खुसीका लागि आफ्नो खुसी नभनी दिनरात शरीर गलाइरहेको छ खाडीमा। त्यो महिलाको पीडा, जसले लाउलाउ खाउखाउ भन्ने समयमा जीवन सहयात्री गुमाई आफ्ना स–साना बालबालिकाको अस्तित्वका लागि विदेसिनु परेको छ। त्यो मानिसको पीडा, जसले दुई छाक टार्न र एउटा सिटामोल ट्याब्लेट किन्न आठ आठ घण्टा थकाई नभनी मजदुरी गर्न परेको मजबुरी स्थायी जागिर। यस्तै थुप्रै भन्न नसकिने भोगाइका पीडाहरु छन्।

यस्ता पीडा कर्मचारीले बुझ्छ ? अहँ बुझ्दैन। कर्मचारी सरकारको ज्यामी हो। ज्यामीलाई त्यो काम गर्ने मात्र अधिकार छ, जुन मालिकले कन्ट्याक्ट साइन गरेर पठाएको हुन्छ कसम खुवाएर। पत्रकारले बुझ्छ ? आफ्नो पेशा बाहेकको काम कुनै पनि पेशाकर्मीले गर्दैन्। तर, त्यो व्यक्तिले बुझ्नैपर्छ, जसले हिजो एक मतको मुलमा शिर झुकाई मतदातासँग सदैव तपाईंको समस्यामा साथ र सहयोग गर्छु भनी प्रण गरेको थियो। अहिलेका साना राजा भनाउँदाहरु, गनाउँदा आगो नलाग्ने मुढाहरुले बुझ्नैपर्छ।

बाटो बनाउने अगुवाले हो। अगुवाले जस्तो बाटो बनायो, त्यही बाटोमा हिंड्न बानी पर्छन् पछाडि आउनेहरु। त्यसैले आजको जनप्रतिनिधि अगुवाको भूमिकामा छ। स्पष्ट र पारदर्शी बनौं। हुनसक्ने कुरा मात्र बोलौँ। बहाना बनाई पहुँचको आधारमा भन्दा पनि सत्य, विवेकी भई सामाजिक न्यायको आधारमा काम गरी बाचा पूरा गरौं। असल र सत्मार्गमा हिंड्न प्रेरित गराउ र आफू पनि हिंडौँ।

(महेश प्रसाद अवस्थी, शुक्लाफाँटा कञ्चनपुर, हाल अर्घाखाँची)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्