परासी, ११ जेठ । जिल्लाबाट राष्ट्रियस्तरका ब्याडमिण्टन खेलाडि उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जिल्ला स्तरीय मेयर कप ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको छ ।
हिजोदेखि शुरु भएको उक्त प्रतियोगिता रामग्राम नगरपालिकाको सहयोग र रामग्राम ब्याडमिण्टन क्लव परासीको आयोजनामा सञ्चालन गरिएको हो । प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहबाट खेलाडिहरुको उल्लेख्य सहभागिता रहेको छ ।
परासीस्थित रामग्राम ब्याडमिण्टन कभर्डहलमा सञ्चालित प्रतियोगितामा मेन्स् डबल्स्, मेन्स् सिङ्गल, भेट्रान डबल्स् तथा जुनियरतर्फ महिला र पुरुषबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष मेघराज गौतमका अनुसार मेन्स् डबल्स्तर्फ ३२ समूह, मेन्स् सिङ्गलतर्फ १६ समूह, भेट्रान डबल्स् (४५ वर्ष माथि) तर्फ आठ समूह र जुनियरतर्फ महिला र पुरुष गरी दश जना खेलाडिको सहभागिा रहेको छ । प्रतियोगितामा विजयी खेलाडिहरुलाई नगद पुरस्कारसहित शिल्ड र मेडलको व्यवस्था गरिएको क्लवका अध्यक्ष गौतमले बताए। दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन गर्दै रामग्राम नगरपालिकाका प्रमुख(मेयर) नरेन्द्रकुमार गुप्ताले परासीमा कभर्डहल निर्माणभएपछि व्याडमिण्टनका खेलाडिको सङ्ख्या ह्वात्तै बढेको भन्दै खुशी व्यक्त गरे।
पूर्वाधार अभावमा खेलाडि पछि पर्नुपरेको स्थितिलाई आफूले बुझेको भन्दै उनले प्रदेश न.. ५ सरकारको ७५ लाख अनुदानमा नगरपालिकाले ढाई विघा क्षेत्रफलमा खेलमैदान पनि बनाउन लागेको जानकारी दिए। यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडि छनौट हुनुपर्नेमा जोड दिदैँ उनले खेलाडिलाई प्रोत्साहन गर्न आफू सदैव सकरात्मक रहेको बताए।
रामग्राम ब्याडमिण्टन क्लवका अध्यक्ष मेघराज गौतमको अध्यक्षता तथा नगर प्रमुख गुप्ताको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, सामुदायिक रेडियो परासीका कोषाध्यक्ष नगेन्द्र अग्रहरी, जिल्ला ब्याडमिण्टन सङ्घका अध्यक्ष शङ्कर भण्डारी, वरिष्ठ अधिवक्ता सुर्दशन पन्त, क्लवका सल्लाहकार सुमन गोपाल आचार्य, क्लवक उपाध्यक्ष ताराचन्द्र बर्मा, सचिव सन्तोष पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए।



लाेकपाटी न्यूज

