काठमाडौं, ८ जेठ । नेपाल सरकारका जलश्रोत तथा सिंचाई मन्त्री माननीय बर्षमान पुनले प्रविधिको विकासले मात्र देशमा समृद्धि नआउने बताएका छन्। प्रवासी नेपाली एकता मञ्च अस्ट्रियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले देश विकासका लागि प्रविधिको विकास मात्र भएर नपुग्ने त्यसका लागि सकारात्मक सोचको विकास आवश्यक हुने बताएका हुन्।
प्रवासी नेपाली एकता मञ्च अस्ट्रियाका अध्यक्ष धर्मराज खतिवडाको सभापतित्वमा आयोजित सो कार्यक्रममा राष्ट्रभाव र सकारात्मक चिन्तनबाट प्रविधिको चाँडो विकास र प्रयोग गर्न सकिने भन्दै उनले जलविद्युतमा अस्ट्रियावासी नेपाली साथै एन आर एनहरुले अहिले लगानी गर्ने सुनौलो अवसर रहेको कुरा समेत व्यक्त गरे।
कार्यक्रमा भूतपूर्व सभामूख ओनसरी घर्तिमगर भियानास्थित संयुक्त राष्ट्रसंघका स्थायी प्रमूख, नेपाली राजदुतावासका महामहिम राजदुत प्रकाश कुमार सुवेदी, माननीयज्यूका स्वकीय सचिव सन्तोष पुन, भ्रमण दलमा समावेश नेपाल सरकारका उच्च पदका कर्मचारीहरु, विभिन्न संघ सस्थाका पदाधिकारीहरु, प्रवासी नेपाली मञ्चका अधिकतम सदस्यहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन मञ्चका सचिव रविचन्द्र भट्टराईले गरेका थिए।



लाेकपाटी न्यूज

